काठमाडौं । माघ ५ गते सप्तरीको राजविराज–५ मा स्रोत नखुलेको ९ लाख ९० हजार रुपैयाँसहित राजेश चौधरी र दिलीप मण्डल पक्राउ परे। उनीहरू भारतबाट नेपालतर्फ फर्किने क्रममा चेकजाँच हुँदा सप्तरी जिल्ला प्रहरी कार्यालयको टोलीले उनीहरूलाई प्रक्राउ गर्यो।
त्यस्तै, माघ ४ गते रौतहट बौधीमाई–७ बाट ३ लाख ६८ हजार ६ सय रुपैयाँसहित भारत बिहारका १९ वर्षीय यसराज जयसवाल, ३ गते महोत्तरी मटिहानी–८ बाट ३० लाख रुपैयाँसहित मटिहानी–३ का २३ वर्षीय सहाउदिन राइन, कात्तिक ३ गते राति भक्तपुर लोकन्थलीबाट ८० लाख रुपैयाँसहित चित्रबहादुर पुन, बाग्लुङ गल्कोट घर भई हाल कोटेश्वर बस्ने पुनलाई बा ४९ प ८५६५ नम्बरको स्कुटर र ३० लाख रुपैयाँसहित प्रहरीले नियन्त्रणमा लिएको थियो।
यस्तै, असोज १५ मा भारतबाट लुकाइछिपाइ नेपालतर्फ ल्याउँदै गरेको १५ लाख ५० हजार रुपैयाँसहित तीन जना प्रक्राउ परे। प्रक्राउ पर्नेमा बिक्रम पटेल, मुकेश पटेल, बलिराम पटेल छन्। स्रोत नखुलेका रकम बरामद गरिएका यी केही उदाहरण मात्रै हुन्। पछिल्लो समय प्रहरीले ठूलो संख्यामा स्रोत नखुलेका रकम बरामद गर्दै आएको छ। भारतसँग सीमा जोडिएका जिल्ला तथा नाकाहरूमा धेरै जसो स्रोत नखुलेका रकम बरामद हुने गरेको प्रहरीको तथ्यांकले देखाउँछ। उपत्यका भित्र पनि यस्ता रकम प्रशस्तै भेटिन थालेका छन्।
प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार आव २०७४/७५–चालू आवको भदौ २९ गतेसम्म ३० करोड ९० लाख ३६ हजार ३४३ रुपैयाँ बरामद गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंले मात्रै २०७७ मंसिरदेखि २०७८ कात्तिकसम्म ५ करोड ५६ लाख ७३ हजार रुपैयाँ स्रोत नखुलेको रकम बरामद गरेको छ भने १७ जनालाई प्रक्राउ गरेको छ। प्रहरीले देशका विभिन्न स्थानबाट बरामद गरेका उक्त रकम सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा दाखिला गरेको रकम हो। प्रहरीले उपलब्ध गराएको तथ्यांकअनुसार आव २०७४/०७५ मा ५ करोड ८२ लाख ८५ हजार ६७९, २०७५/७६ मा १० करोड ८६ लाख २ हजार ९९४, २०७६/७७ मा ५ करोड ७६ लाख ५९ हजार ९१०, २०७७/७८ मा ६ करोड ३६ लाख ३५ हजार ७६० र चालू आवको भदौं २९ गतेसम्म २ करोड ८ लाख ५२ हजार रुपैयाँ बरामद गरेको छ।










प्रतिक्रिया दिनुहोस्