महामारीमा सरकारी उपहास : सर्वसाधारणले किन्ने सिटामोल बजारमै छैन « Imagekhabar – Online News Portal of Nepal


महामारीमा सरकारी उपहास : सर्वसाधारणले किन्ने सिटामोल बजारमै छैन


13.429k
Shares

काठमाडौं । कोभिड–१९ संक्रमण तीव्र भएका बेला बजारमा सिटामोलको चरम अभाव छ । सिटामोल अभावकै कारण कोभिड–१९ महामारीको पहिलो र दोस्रो लहरमा धेरै बिरामीले सास्ती भोग्नुपरेको थियो । तर मूल्य वृद्धिका लागि विगत लगातार अभाव सिर्जना गरिए पनि सरकार संवेदनशील नहुँदा समस्या अहिले झन् चर्किएको छ ।

राजधानी उपत्यकाका अधिकांश फार्मेसीमा अहिले सिटामोल पाउन मुस्किल छ । अहिले सिटामोल माग्न आउनेलाई फार्मेसीले वैकल्पिक औषधि दिएर पठाउने गरेका छन् । यसले बिरामीले महँगो मूल्य तिर्नुपर्ने र जे चाहिने हो त्योभन्दा फरक औषधि सेवन गर्नुपर्ने बाध्यता छ ।

सर्वसाधारण मात्र होइन, सरकारी निकायले पनि सिटामोल पाएका छैनन् । तर, यो विषयमा सरकारले गम्भीर छलफल गरेको छैन । साताअघि प्रदेश १ र गण्डकी सरकारले मातहतका स्वास्थ्य संस्थामा सिटामोल अभाव सम्बोधन गर्न नेपाल औषधि लिमिटेडसँग ५० लाख चक्की मागेका थिए, तर लिमिटेडबाट कुनै जवाफ नपाएको बताउँछन् प्रदेशको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. नारायण श्रेष्ठ । ‘औषधि अभावकै कारण बिरामीले दुःख भोग्नुपरेको छ,’ उनले भने ।

यता वीर परिसरमा झन्डै आधा दर्जन फार्मेसी छन् तर मंगलबार कुनै फार्मेसीमा पनि सिटामोल थिएन । वीर अस्पतालले सिटामोलका लागि लिमिटेडसँग ताकेता गरेको दुई साता बित्यो । ‘झन्डै डेढ सातायता माग ह्वात्तै बढेको छ । एउटै परिवारले ४/५ पत्तासम्म सिटामोल किन्नुपर्ने अवस्था छ,’ अस्पतालका फार्मेसिस्ट भन्छन्, ‘सिटामोल यथाशीघ्र आपूर्ति गर्न पटक–पटक ध्यानाकर्षण गराइएको छ तर लिमिटेडले आश्वासन मात्र दिने गरेको छ ।’

कान्तिपुर