
काठमाडौं, माघ २९ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा हिमालयन शेर्पा क्लब र जावलाखेल युथ क्लबले ३–३ गोलको बराबरी खेलेका छन् ।
गोलकर्ता
एन्फा कम्प्लेक्स सातदोबाटोमा बुधबार भएको खेलमा हिमालयन शेर्पाका लागि स्टेभेन समिरले दुई तथा विजय श्रेष्ठले एक गोल गरे ।
जावलाखेलका लागि कुबेर विष्ट, फोदे फोफाना र रुपबहादुर लामाले एक/एक गोल गरे ।
रातो कार्ड
जावलाखेलका अरुण ब्लोन र हिमालयनका निरज बस्नेतले रातो कार्ड खाएपछि दुवै टोली १० जनामा समेटिएका थिए ।
जावलाखेलको कम्तीमा पाँचौं स्थान पक्का
यो बराबरीसँगै जावलाखेलले लिग तालिकामा कम्तीमा पाँचौं स्थान पक्का गरेको छ ।
१२ खेलबाट जावलाखेलको २१ अंक भएको छ । समान खेलबाट २३ अंक जोडेको थ्रीस्टार क्लब चौथो तथा छैटौं स्थानको नेपाल पुलिस क्लबको १७ अंक छ । ११ अंक जोडेको हिमालयन शेर्पा एघारौं स्थानमा रहेको छ ।
१२औं चरणसम्म शीर्ष स्थानको त्रिभुवन आर्मी क्लब २९ अंकसहित शीर्ष स्थानमा रहेको छ भने दोस्रो स्थानको मच्छिन्द्र क्लबको २८ अंक छ । तेस्रो स्थानको मनाङ–मर्स्याङ्दी क्लबको २५ अंक छ ।
अन्तिम चरणका खेलहरु बिहीबारदेखि
१३औं तथा अन्तिम चरणका खेलहरु बिहीबारदेखि हुनेछन् ।
बिहीबार तीन खेल हुनेछन् । बिहान पौने ९ बजे पुलिसले फ्रेन्ड्स क्लबसँग, दिउँसो सवा १२ बजे सशस्त्र प्रहरीको एपीएफ क्लबले ‘बीबीसी’सँग तथा दिउँसो साढे ३ बजे सरस्वती युथ क्लबले संकटा क्लबसँग खेल्नेछ ।
जारी लिगको अन्तिम भिडन्त आर्मी र मच्छिन्द्रबीच शनिबार हुनेछ ।
प्रतिक्रिया दिनुहोस्