२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


कांग्रेस सांसदद्वारा सरकारको आलोचना


0
Shares

काठमाडौं, माघ २९ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरुले चीनमा रहेका नेपाली नागरिकको उद्धार र ‘कोरोनाभाइरस’ संक्रमणको सम्भावित जोखिम रोक्न आवश्यक तयारी नगरेको भन्दै सरकारको आलोचना गरेका छन् ।

प्रतिनिधिसभाको बुधबार बसेको बैठकको विशेष समयमा बोल्दै कांग्रेसकी सांसद डिला संग्रौलाले चीनमा नेपाली नागरिक स्वदेश फर्कन गुहार माग्दा पनि प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सारंगी रेटेर मनोरञ्जन दिएको’ भन्दै आलोचना गरिन् ।

कांग्रेसकै सांसद पार्वती डिसी चौधरी र सुजाता परियारले किसानलाई उखुको मूल्य भुक्तानी दिलाउन, चीनमा रहेका नेपालीको तत्काल उद्धार गर्न र सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा देखिएको ‘भाइरल’ तत्काल नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद डिला संग्रौलाले सरकार एक व्यापारिक समूहलाई राज्यको सम्पत्ति जिम्मा लगाउन लागिपरेको आरोप लगाउँदै सदनमा प्रधानमन्त्रीको जवाफ माग गरिन् ।

कांग्रेसकै सांसद हिरादेवी गुरुङले नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई संकेत गर्दै ‘पाँच हजार मान्छे मारेको जिम्मा लिन्छु’ भनेर सार्वजनिक अभिव्यक्ति दिनेलाई कानुनी दायरामा नल्याएको भन्दै आक्रोश पोखिन् ।

सत्तारुढ दल नेकपाका सांसद गजेन्द्रबहादुर महतले ‘एमसीसी’बारे जनस्तरमा नकारात्मक भावना फैलाउने काम भएको भन्दै तत्काल संसदमा छलफल हुनुपर्ने माग गरे ।

बुधबारको बैठकमा कृषि, सहकारी तथा प्राकृति स्रोत समितिका सभापति पूर्णकुमारी सुवेदीले ‘बिरुवा संरक्षण (पहिलो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन,२०७६ पेस गरिन् ।

यस्तै, गृहमन्त्री रामबहादुर थापाले ‘कारागार विधेयेक,२०७६’ पेस गरे ।