इलाम–काठमाडौं उडान हुने « Imagekhabar – Online News Portal of Nepal
१० आश्विन २०७९, सोमबार | Mon Sep 26 2022


इलाम–काठमाडौं उडान हुने


3.133k
Shares

इलाम । इलाममा नियमित उडान हुने भएको छ । सदरमुकामस्थित फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट इलाम–काठमाडौं नियमित उडान हुने भएको हो ।

यहि फागुन ८ गतेदेखि प्रत्येक आइतबार उडान हुने निश्चित भएको हो । इलाम नगरपालिकाले १२ उडानका लागि आर्थिक लगायत सबैजसो दायित्व बहनगरी विमानस्थल सञ्चालन गर्न लागेको हो । नगरपालिकाले तारा एयरसँग उडानका लागि सम्झौता गरेको पत्रकार सम्मेलनमा मेयर महेश बस्नेतले जानकारी दिनुभयो ।

तारा एयरको १६ यात्रु क्षमताको जहाज उक्त बिमानस्थलबाट चल्नेछ । इलाम–काठमाडौं एकतर्फी भाडा ८ हजार ७ सय रुपैयाँ तोकिएको छ । गत चैत अन्तिम साता नै विमानस्थल उडान लागि तयार भएको थियो । विमानस्थलको ६ सय ७० मिटर लम्बाई र २० मिटर चौडाईको धावनमार्ग कालोपत्रे भएको छ ।

विमानस्थल निर्माणका लागि अहिलेसम्म २८ करोड रुपैयाँ खर्च भइसकेको प्राधिकरणले जनाएको छ ।

उडान भएपछि इलामसहित पाँचथर, ताप्लेजुङ र भारतको दार्जिलिङका बासिन्दाले पनि सुविधा पाउने छन् । ३ सय २८ रोपनीमा निर्माणाधीन विमानस्थलका लागि २०५८ सालमा प्रक्रिया सुरु भएकोे थियो ।