पशुपतिको धर्मशालामा एउटै कोठाको झन्डै सात हजार शुल्क « Imagekhabar – Online News Portal of Nepal
२० आश्विन २०७९, बिहीबार | Fri Oct 7 2022


पशुपतिको धर्मशालामा एउटै कोठाको झन्डै सात हजार शुल्क


1.742k
Shares

काठमाडौं । तीर्थालुलाई सुलभ दरमा बस्न भारतले पशुपति क्षेत्रमा बनाइदिएको धर्मशाला सामान्य तीर्थालु बस्नै नसक्ने महँगो छ । बतास अर्गनाइजेसनले भाडामा लिएर होटेल चलाइरहेको यो धर्मशालामा एउटै कोठाको मूल्य खानाबाहेक नै झन्डै सात हजारसम्म तोकिएको छ ।

भारतले २४ करोड अनुदानमा बनाइदिएको धर्मशालालाई पशुपति क्षेत्र विकास कोषले होटेल चलाउने गरी बतास अर्गनाइजेसनलाई ठेक्कामा दिएको थियो । वार्षिक एक करोड पाँच लाख (भ्याटबाहेक) को न्यून दरमा ठेक्कामा पाएको बतासले धर्मशालाको भित्री संरचना तोडफोड गरेर विलासी होटेल बनाएको छ ।

होटेल व्यवस्थापन तथा पर्यटन तालिम केन्द्रले धर्मशालामा बस्ने तीर्थालुसँग प्रतिरात न्यूनतम तीन सय ५० रुपैयाँदेखि अधिकतम दुई हजार नौ सय रुपैयाँ लिन सिफारिस गरेको थियो, तर बतासले दोब्बरभन्दा बढीसम्म असुलिरहेको छ ।

होटेलमा सबैभन्दा सस्तो चार सय ३० रुपैयाँ एउटा रुमको तोकिएको छ । तर, यस्ता रुम जम्मा दुईवटा मात्रै बनाइएका छन् । होटेलमा तीनवटा स्विट रुम बनाइएका छन् । जसको शुल्क नेपालीका लागि ६ हजार सात सय ६५ तोकिएको छ । त्यस्तै, ५७ वटा एसी डिलक्स रुम छन् । जसमा बसेको नेपालीले एक रातको तीन हजार पाँच सय ६७ रुपैयाँ तिर्नुपर्छ । त्यस्तै, १३ वटा ननएसी रुम छन् । त्यसको शुल्क नेपालीलाई एक हजार दुई सय ३० रुपैयाँ तोकिएको छ । नेपाली, भारतीय र तेस्रो मुलुकका तिर्थालुका लागि छुट्टाछुट्टै शुल्क तोकिएको छ ।

तीन वर्ष लगाएर निर्माण गरिएको धर्मशाला ०७५ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तत्कालिन प्रधानमन्त्री केपी ओलीलाई हस्तान्तरण गरेका थिए । तर, सञ्चालनमा नआउँदै कोषले बतास अर्गनाइजेशनलाई सुम्पिएको थियो । कोषले ३० वैशाख ०७६ मा सम्झौता गरेर १० बर्षका लागि धर्मशाला बतासलाई दिएको थियो । त्यतिबेला पर्यटनमन्त्री योगेश भट्टराई र कोषको सदस्य सचिव डा. प्रदीप ढकाल थिए ।

नयाँ पत्रिका