Logo १० चैत्र २०८२, मंगलबार | Wed Mar 25 2026


पशुपतिपछि जनकपुरको धर्मशालालाई पनि होटेल बनाइँदै


3.3k
Shares

काठमाडौं । तीर्थालुको बसाइ सहज बनाउने उद्देश्यसहित निर्माण गरिएका धर्मशालामा निजी कम्पनीहरूले आँखा लगाउने क्रम बढेको छ । भारतले पशुपतिमा बनाइदिएको धर्मशाला बतास अर्गनाइजेसनले हत्याएको दुई वर्ष नबित्दै जनकपुरस्थित धर्मशाला ‘तिरुमाला तिरुपती देवस्थानम् यात्रीनिवास’ द पिक हस्पिटालिटी प्रालिले २० वर्षका लागि लिजमा लिएर होटेल बनाउँदै छ । यो त्यही कम्पनी हो, जसले पशुपतिको धर्मशालामा बतासले चलाएको होटेलको व्यवस्थापन हेर्ने गर्छ ।

जनकपुरको बाह्रबिघानजिकै रहेको यात्रीनिवास धर्मशाला दक्षिण भारतको तिरुमाला तिरुपती बालाजी ट्रस्टले बनाइदिएको होे । जानकी मन्दिर दर्शन गर्न आउने भक्तजनलाई सहज वासका धर्मशाला बनाइएको थियो । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का पदाधिकारीसँगको मिलेमतोमा पिक हस्पिटालिटीले एक बिघा जग्गा र त्यसमा रहेको तीनतले धर्मशाला वार्षिक ३० लाख १२ हजार तिर्ने गरी ठेक्कामा लिएको हो । परिषद् र पिक हस्पिटालिटीबीच १० वैशाख ०७८ मा २३ बुँदे सम्झौता भएको हो ।

सम्झौताअनुसार पिक हस्पिटालिटीले यात्रीनिवासको नाम नै हटाएर होटेल चलाउनेछ । अहिले मर्मतसम्भार भन्दै २१ कोठे भवनको पहिचानसमेत मेटिने गरी पुराना संरचना भत्काउँदै नयाँ बनाइरहेको छ । फागुनदेखि होटेल सञ्चालन गर्ने तयारीअनुसार धर्मशालाका भित्तादेखि कोठाहरू भत्काइँदै छन् ।

ठेक्का सम्झौता हुँदा परिषद् अध्यक्ष शालिग्राम सिंह थिए । तर, ठेक्का दिने निर्णय र सम्झौतामा आफ्नो संलग्नता नभएको उनको भनाई छ । ‘मेरै कार्यकालमा ठेक्का लागे पनि मलाई त्यसबारे कुनै जानकारी छैन । कसलाई कति वर्षका लागि कति बजेटमा ठेक्का दिइएको छ, त्यो पनि थाहा छैन,’ उनले भने, ‘यो सबै गर्ने कार्यकारी निर्देशक बलराम ठाकुर हुन् ।’ सिंह अघिल्लो साता २७ पुसमा मात्रै परिषद् अध्यक्षबाट अवकाश भएका छन् ।

नयाँ पत्रिका