
काठमाडौं । पछिल्लो समय कोरोना संक्रमणको दर उच्च गतिमा बढेसँगै अस्पतालका स्वास्थ्यकर्मीहरू संक्रमित हुने दर पनि दैनिक बढिरहेको छ । विशेषगरी काठमाडौं, ललितपुर र भक्तपुर क्षेत्रमा रहेका अस्पतालमा स्वास्थ्यकर्मी संक्रमित हुने दर बढेको पाइएको छ ।
उपत्यकाका तीन जिल्लामा हालसम्म ३ सय ५० भन्दा बढी स्वास्थ्यकर्मी संक्रमण देखिएको छ भने केही आइसोलेसनमा रहेका छन् । स्वास्थ्यकर्मी धमाधम संक्रमित हुन थालेपछि अस्पतालले स्वास्थ्य सेवामा संकुचन ल्याउने तयारीमा छन् । हालसम्म देशभर १ सय ३० बढी चिकित्सक र २ सयभन्दा बढी नर्सहरू संक्रमित भइसकेका छन् ।
अबको केही दिनमै चिकित्सकमा संक्रमण दर बढ्न सक्ने देखिएको कोभिड–१९ विज्ञ तथा भाइरोलोजिस्ट डा. रमेशकुमार आचार्यले बताए । उनका अनुसार अब सरकारले अस्पतालमा चिकित्सक र नर्सलाई सिफ्टअनुसार काम लगाउनुपर्ने बताए । ‘चिकित्सक र नर्सलाई जगेडामा राखेर पनि काम गर्नुपर्नेहुन्छ, डा. आचार्यले भने, अस्पतालका सबै चिकित्सकको पीसीआर टेस्ट गरिनुपर्छ ।’
अहिलेको यथास्थितिमा संक्रमण बढे अबको एक/दुई हप्तामा अस्पतालमा उपचार गराउने चिकित्सक अभाव हुन सक्ने स्थिति आउने डा. आचार्यको भनाइ छ । हाल वीर अस्पतालमा १४ डाक्टरसहित ४८ स्वास्थ्यकर्मी संक्रमित भएका छन् । अस्पतालको ल्याब टेक्निसियन संक्रमित भएपछि ल्याबको काम प्रभावित बनेको छ । यस्तै, ललितपुरमा रहेको पाटन अस्पतालमा ३० जना नर्स र २० डाक्टर होम आइसोलेसनमा छन् ।
प्रतिक्रिया दिनुहोस्