चार किलो चामल किन्न हुम्लीलाई महाभारत « Imagekhabar – Online News Portal of Nepal
१२ आश्विन २०७९, बुधबार | Wed Sep 28 2022


चार किलो चामल किन्न हुम्लीलाई महाभारत


182
Shares

काठमाडौं । तस्बिरमा देखिएको मानिसको भिड कुनै जात्रा वा पर्वको होइन । यो चार केजी चामलका लागि सिफारिस माग्न जिल्ला प्रशासन कार्यालयमा आएका हुम्ली जनताको भिड हो ।

तीन महिनादेखि चामल नपाएपछि हुम्ली नागरिक तोक–आदेश लगाउन जिल्ला प्रशासन कार्यालयमा जम्मा भएका थिए । नेपाली नागरिकताको फोटोकपीसहित उनीहरू आएका थिए । प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले तोक–आदेश लगाएपछि हुम्लीले प्रतिपरिवार चार केजी चामल पाउने व्यवस्था छ । यसका लागि उनीहरू चार घन्टा पैदल हिँडेर सदरमुकाम सिमकोट पुग्ने गरेका छन् । चार केजी चामल पाउने भएपछि बिहानै ६ बजे हिँडेर सिमकोट पुगेको स्थानीय गणेश बोहोराले बताए । तर, चामल पाउने–नपाउने कुनै टुंगो नभएको दुखेसो गरे । ‘सधैँ वडा कार्यालयबाट दिएको रासनकार्डबाट चामल पाउँथ्यौँ । यसपटक भने नागरिकताको प्रमाणपत्रको फोटोकपी बोक्नुपर्ने बाध्यता छ,’ बोहराले भने ।

चार किलो चामल लिन नागरिकताको फोटोकपी बोकेर तोक–आदेश लगाउनुपर्ने प्रावधानले सर्वसाधारण नागरिकलाई दुःख दिने काम मात्रै भएको सिमकोट गाउँपालिका–२ की जानकी भण्डारीको दुखेसो छ । स्थानीय तहले दिएको रासन कार्डसँग नागरिकता चामल खान धरौटी राखेजस्तै भएको उनले गुनासो गरिन् । चार किलो चामल किन्न हुम्ली नागरिकलाई महाभारत भएको स्थानीयको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले चामल पाउने नागरिक नदोहोरिऊन् भनेर विवरण राख्न नागरिकताको फोटोकपी अनिवार्य गरिएको जानकारी दिए । ‘चामल पाउने सबैको रेकर्ड राखेका छौँ, कोही नदोहोरिऊन् र सबैले चामल पाऊन् भनेर नागरिकता अनिवार्य गरिएको हो । बजार क्षेत्रमा प्रतिपरिवार पाँच केजी दिने गरेका छौँ,’ आचार्यले भने ।

नयाँ पत्रिका