
काठमाडौं, माघ २८ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि छिनोफानो त्रिभुवन आर्मी क्लब र मच्छिन्द्र क्लबबीच फागुन ३ गते शनिबार हुने जारी लिगको अन्तिम खेलबाटै टुंगो लाग्ने भएको छ ।
आर्मी ३–० ब्रिगेड ब्वाइज
लिगको १२औं खेलमा ब्रिगेड ब्वाइज क्लब (बीबीसी)लाई ३–० ले हराउँदै आर्मी शीर्ष स्थानमा पुग्न सफल भएको हो ।
मंगलबार एन्फा कम्प्लेक्स सातदोबाटोको मैदानमा भएको खेलमा आर्मीलाई जिताउन कप्तान भरत खवास, विकास तामाङ र टेकबहादुर बुढाथोकीले एक/एक गोल गरे ।
भरतको ५० गोल पूरा
योसँगै भरतले ‘ए’ डिभिजन लिगमा व्यक्तिगत ५० गोल पूरा गरेका छन् ।
आर्मीको २९ अंक
जितसँगै अन्तिम खेल खेल्नुअघि पहिलोपटक उपाधि जितनजिक पुगेको आर्मीको २९ अंक भएको छ । दोस्रो स्थानको मच्छिन्द्र क्लबको २८ अंक छ ।
मनाङ २–० पुलिस
तेस्रो स्थानको साविक विजेता मनाङ–मर्स्याङ्दी क्लबको २५ अंक भएको छ ।
मनाङले मंगलबारको खेलमा नेपाल पुलिस क्लबमाथि २–० को जित हासिल गर्यो ।
मनाङका लागि विमल राना र अञ्जन विष्टले एक/एक गोल गरे ।
पुलिसका विशाल बस्नेतले खेलको अन्त्यतिर रातो कार्ड खाए ।
थ्रीस्टार १–० एनआरटी
थ्रीस्टार क्लब भने २३ अंकसहित चौथो स्थानमा छ ।
थ्रीस्टारले मंगलबार भएको खेलमा न्यूरोड टिम (एनआरटी)लाई १–० ले हरायो ।
थ्रीस्टारका लागि दीपक घलेले ७७औं मिनेटमा निर्णायक गोल गरे ।
मनाङलाई दोस्रो हुने अवसर कायमै
आफ्नो अन्तिम खेलमा मनाङले जावलाखेल युथ क्लबसित र थ्रीस्टारले च्यासल युथ क्लबसित फागुन २ गते खेल्नेछ ।
यदि, आर्मीले मच्छिन्द्रलाई हरायो भने र मनाङले पनि फराकिलो जित निकालेमात्र मनाङ उपविजेता बन्न सक्नेछ । यदि, मनाङ पराजित हुँदा थ्रीस्टार विजयी भए तेस्रो स्थानमा थ्रीस्टार रहने छ ।
१४ टोली सहभागी लिगबाट सरस्वती युथ क्लब ‘रेलिगेसन’मा परिसकेको छ ।
बुधबारको खेल
बुधबार १२औं चरणको अन्तिम खेलमा दिउँसो १ बजे हिमालयन शेर्पा क्लबले एन्फा कम्प्लेक्समा जावलाखेल युथ क्लबसित खेल्नेछ ।
प्रतिक्रिया दिनुहोस्