
काठमाडौं । मोबाइल हराए, चोरी भए वा लुटिएमा हतपत नभेटिने देखिएको छ । प्रहरी र दूरसञ्चार प्राधिकरणको तथ्यांक हेर्दा उजुरी र फेला परेकाको संख्याले यसको पुष्टि गर्छ । महानगरीय प्रहरी परिसर काठमाडौंको तीन वर्षको तथ्यांकअनुसार ३८ हजार ५० वटा मोबाइल हराएको उजुरी परेका छन् । त्यसरी उजुरी परेकामध्ये ४ हजार ७ सय वटा मात्रै फेला परेका छन् ।
हराएकाको तुलनामा फेला परेको संख्या १२.३५ प्रतिशत मात्र हो । मासिक न्यूनतम ५ सयदेखि बढीमा १५ सय वटासम्म मोबाइल हराएका उजुरी पर्ने गरेको परिसरले जनाएको छ । यसमा औसतमा १०/११ प्रतिशत मात्रै फेला पर्ने गरेको छ । यस्तै, प्राधिकरणको पछिल्लो चार आर्थिक वर्षको तथ्यांकमा पनि हराएर भेटिने मोबाइल फोनको संख्या निकै कम देखिन्छ ।
आव २०७६/७७ मा १ हजार १ सय ६२ वटा मोबाइल हराएको निवेदन परेकामा प्राधिकरणले २ वटा मात्रै पत्ता लगाउन सकेको थियो । आव २०७७/७८ मा २ हजार ३ सय ९४ वटा हराएको निवेदन परेको थियो । त्यसमा ९ सय २७ वटाको कहाँ प्रयोग भइरहेका छन् भन्ने पत्ता लागे तर एउटै पनि भेटिएनन् ।
‘पोहोर चाबहिलबाट लगनखेल जाँदै गर्दा गाडीभित्रै मोबाइल हरायो, प्रहरीमा उजुरी दिएकी थिएँ, अझै भेटिएको छैन,’ फेसन डिजाइनर दृष्टा शाक्य भन्छिन्, ‘सामसङको एम–टेन सेट थियो, ३५ हजारमा किनेकी थिएँ । गाडीमा चोरी भयो जस्तो लाग्छ । प्रहरीले फोनमा अर्को सिम नहालेसम्म ट्र्याक गर्न सकिँदैन भनेको थियो । धेरैचोटि धाएँ तर भेटिएन ।’ फोन सेट हराउँदा सम्पर्क नम्बर, कागजपत्र, फोटा र उपयोगी दस्ताबेज सबै हराउने भएकाले निकै ठूलो नोक्सान परेको अनुभव उनको छ ।
प्रतिक्रिया दिनुहोस्