२२ मंसिर २०८०, शुक्रबार | Fri Dec 8 2023


स्वास्थ्यकर्मीले दोस्रो लहरको जोखिम भत्ता अझै पाएनन्


130
Shares

काठमाडौं । नेपालमा ९ माघ ०७६ मा संक्रमण पुष्टि भएयता कोरोनाका दुइटा लहर सकिएर तेस्रो लहर सुरु भएको छ । तर, अघिल्ला लहरमा संक्रमितको उपचारमा प्रत्यक्ष खटिएका सबै स्वास्थ्यकर्मीले सरकारबाटै घोषणा भएको जोखिम भत्ता अहिलेसम्म पाएका छैनन् । उनीहरूमध्ये केहीले पहिलो लहरकै र धेरैले दोस्रो लहरको भत्ता नपाएको गुनासो गरेका छन् ।

२९ असारमा बसेको प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको पहिलो मन्त्रिपरिषद् बैठकले कोरोनाविरुद्ध अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीलगायत कर्मचारीलाई एक साताभित्रै तलबको ५० प्रतिशत जोखिम भत्ता उपलब्ध गराउने निर्णय गरेको थियो । उक्त निर्णय भएको ठ्याक्कै ६ महिना पूरा भइसकेको छ ।

महामारीको दोस्रो लहरले भयावह बनाउँदै गर्दा २० वैशाख ०७८ मा तत्कालीन प्रधानमन्त्री केपी ओलीले पनि स्वास्थ्यकर्मीसहितका फ्रन्ट लाइनरलाई ५० प्रतिशत जोखिम भत्ता दिने घोषणा गरेका थिए । तर, उनी सरकारमा छँदासम्म आफ्नै घोषणा पूरा गरेनन् । देउवा सरकारको निर्णय पनि कागजमै सीमित हुँदा स्वास्थ्यकर्मी निराश बनेका छन् ।

पहिलो लहरको संकेत सुरु भएलगत्तै ३ चैत ०७६ मा तत्कालीन ओली सरकारले नै कोरोना पहिचान, रोकथाम, नियन्त्रण र संक्रमितको उपचारका लागि अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीलाई सुरु तलबमानको ७५ प्रतिशतसम्म जोखिम भत्ता दिने निर्णय गरेको थियो ।

नयाँ पत्रिका