१० आश्विन २०८०, बुधबार | Wed Sep 27 2023


६ वर्षयताकै उच्च मूल्यवृद्धि


923
Shares

काठमाडौं । मुलुकको मूल्यवृद्धि दर ६ वर्षयताकै उच्च भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार मंसिर महिनामा अघिल्लो वर्षको सोही महिनाको तुलनामा मूल्यवृद्धिदर ७ दशमलव ११ प्रतिशतले बढेको छ । त्यति मात्रै होइन, मंसिरको एक महिनामै कात्तिकको तुलनामा मूल्यवृद्धिदर २ प्रतिशत बिन्दुले बढेको छ । ०७३ भदौमा यसअघि वार्षिक मूल्यवृद्धिदर ७ दशमलव ९० प्रतिशत रहेको थियो ।

अर्कातिर, शोधनान्तर घाटा करिब दुई खर्ब रुपैयाँ पुगेको छ भने मुलुकमा रहेको विदेशी विनिमय सञ्चितिले ६ दशमलव ८ महिनाको मात्रै आयात धान्ने अवस्था सिर्जना भएको छ । यी तथ्यांकले मूल्य स्थिरता र बाह्य दबाब नियन्त्रणमा राख्ने राष्ट्र बैंकको मुख्य दायित्वमा चुनौती थपिँदै गएको देखाएको छ ।

राष्ट्र बैंकले चालू आवमा वार्षिक मूल्यवृद्धिदर ६ दशमलव ५ प्रतिशतमा सीमित राख्ने लक्ष्य लिएको छ । मंसिर महिनामा मूल्यवृद्धि उच्च भए पनि हालसम्मको वार्षिक औसत वृद्धिदर भने ५ दशमलव शून्य २ प्रतिशतमा रहेको छ । आगामी महिना मूल्यवृद्धिदर लक्षित सीमामा राख्न सकेको अवस्थामा मात्रै राष्ट्र बैंकको उद्देश्य पूर्ति हुनेछ ।

‘वास्तवमै अहिले हामीलाई समष्टिगत आर्थिक स्थायित्व कायम राख्नुपर्ने र कोभिडको तेस्रो लहरका कारण आर्थिक क्रियाकलापको विस्तारलाई पनि सँगै लैजानुपर्ने अवस्था आएको छ,’ राष्ट्र बैंकका प्रवक्ता तथा कार्यकारी निर्देशक डा. गुणाकर भट्टले भने, ‘विगतमा जस्तो आर्थिक विस्तारमै मात्र केन्द्रित हुने सुविधा हामीलाई छैन ।’

विश्व बजारमा महँगी दर वृद्धि भइरहेकाले नेपालमा केही समय मूल्यवृद्धि कायमै रहने र अर्थतन्त्र चलायमान बनाउनकै लागि पनि आयातमा धेरै कडाइ गर्न सक्ने अवस्था नभएकाले बाह्य दबाब कायमै रहने सम्भावना रहेको भट्टले बताए ।

नयाँ पत्रिका