कोभिड युनिफाइड अस्पतालमा प्रमुख डा. लोहनीको सरुवा रोकियो « Image Khabar


कोभिड युनिफाइड अस्पतालमा प्रमुख डा. लोहनीको सरुवा रोकियो


286
Shares

काठमाडौं, पुस २९ । कोभिड युनिफाइड अस्पताल (वीर अस्पताल) को प्रमुखमा सरुवा भएका डा. गुणराज लोहनीको सरुवा सम्बन्धी निर्णय फिर्ता भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनपछि स्वास्थ्यमन्त्री विरोध खतिवडाले मन्त्रीस्तरिय निर्णयबाट गरेको सरुवा प्रक्रिया रोकिएको हो ।

१२औं तहका विशिष्ट श्रेणीका अधिकृतको सरुवा मन्त्रीले प्रधानमन्त्रीसँग नसोधी गरेको भन्दै कांग्रेसका वरिष्ठ नेताहरूले समेत देउवाको ध्यानाकर्षण गराएका थिए । दुई दिनअघि मात्रै स्वास्थ्यमन्त्री खतिवडाले डाक्टर लोहनीलाई वीर अस्पताल पठाउने मन्त्रीस्तरीय निर्णय गरेका गर्नुभएको थियो । न्याम्स ऐन विपरीत डा. लोहनीलाई वीरमा पठाइएको, १२औं तहको कर्मचारी सरुवा प्रधानमन्त्रीलाई जानकारी नदिई गरिएको र राष्ट्रिय सभा निर्वाचनको आचारसंहिता लागेको बेलामा सरुवा रोक्नुपर्ने अवस्था आएको जनाइएको छ ।

प्रधानमन्त्री देउवाले हाल लोहनीको सरुवा नगर्न र वीरमा डा. भुपेन्द्र बस्नेतलाई नै निरन्तरता दिन निर्देशन दिनुभएको छ । डा. लोहनीलाई निर्देशकको जिम्मेवारी दिइएपछि बुधबार केही कर्मचारीले विरोधसमेत गरेका थिए ।