२५ जेष्ठ २०८०, बिहिबार | Fri Jun 9 2023


‘देउवाको मान्छे हुँ, ओलीले ज्वाइँ भन्नुहुन्छ, ब्युरोक्रेसीमा त खेल्ने हो’


10.101k
Shares

काठमाडौं । शक्तिका आडमा सार्वजनिक सम्पत्ति लिजमा लिएर व्यापारिक प्रयोजनमा लगाइरहेका व्यवसायी आनन्दराज बतासले प्रधानमन्त्री शेरबहादुर देउवादेखि प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीसम्म आफ्नो पहुँच भएको बताएका छन् । आफू देउवाको मान्छे भएको र ससुराली झापा भएका कारण ओलीले आफूलाई ज्वाइँ भनेर सम्मान गर्ने गरेको उनको भनाइ छ । पछिल्लो समय विवादित तीनवटै ठेक्का आफूले ओली नेतृत्वकै सरकारका पालामा पाएको उनको भनाइ छ । 

‘म शेरबहादुर देउवाको मान्छे हुँ, तर मेरा तीनवटा काम केपी ओलीका पालामा भएका छन् नि !’ प्राइम टेलिभिजनको स्टिङ अप्रेसनमा व्यवसायीले बतासले भनेका छन्, ‘… मेरो ससुराली भद्रपुर हो । त्यसैले ओलीजी (केपी ओली)ले मलाई ज्वाइँ भन्नुहुन्छ ।’

राजनीतिक शक्ति नजिक भएपछि कर्मचारीतन्त्रमा खेलेर आफूले व्यवसाय हात पारेको बतासको आशय छ । अरू व्यवसायीले पनि खेल्ने उनको भनाइ छ । ‘ब्युरोक्रेसीमा को खेल्दैन ? ब्युरोक्रेसीमा त खेल्ने हो । के लुकाउनु छ तपाईंलाई ? ब्युरोक्रेसीमा ‘हजुर यसो गरौँ, त्यसो गरौँ’ नभनीकन पाउँछ कसैले ?’ उनको भनाइ छ । 

बतास अर्गनाइजेसनले भारतले अनुदानमा बनाइदिएको पशुपतिको धर्मशाला शक्तिका आडमा लिजमा लिएर ‘थ्री स्टार’ लज बनाएका छन् । त्यस्तै, नारायणहिटी संग्रहालयभित्र रेस्टुरेन्ट चलाउने अनुमति लिएका छन् भने सेती नदी थुनेर ढुंगा–गिटी निकालेर प्राकृतिक दोहन गर्ने काम पनि गरिरहेका छन् । 

स्टिङ अप्रेसनमा बतासले आरोप लागेजसरी प्रधानमन्त्री देउवापत्नी आरजुको पैसा आफूले नचलाएको दाबी गरेका छन् । ‘सबैलाई थाहा छ– आनन्द बतास शेरबहादुर देउवाको मान्छे हो । देउवाको पैसा आनन्द बतासले चलाउँछ भन्छ मान्छेहरूले, एक रुपैयाँ प्रमाणित गरेर देखाओस् त ! मीनबहादुरलाई माओवादीको पैसा चलायो भन्छन्, सुमार्गीलाई पनि त्यसै भन्छन् । आरजु (प्रधानमन्त्रीपत्नी)को पैसा सबै मैले चलाउँछु भन्छन् क्या ! यस्तो सुन्दा मलाई दुःख लाग्छ,’ उनको गुनासो छ । 

बतासले आर्थिक शक्तिकै आडमा काठमाडौंको टंगालस्थित लक्ष्मीनारायण मन्दिरको झन्डै ६ रोपनी जग्गा र चारतले भवन पनि विनाप्रतिस्पर्धा ३५ वर्षका लागि लिजमा लिएर व्यापारिक प्रयोजनमा लगाएका छन् । 

नयाँ पत्रिका