माओवादी केन्द्रले महाधिवेशन गरेर सिकायो के सिकेन ? « Image Khabar


माओवादी केन्द्रले महाधिवेशन गरेर सिकायो के सिकेन ?


156
Shares

कम्युनिस्ट जिनमा अधिनायकत्व स्थापनाको लक्ष्य नदेखिनु सर्वथा अनौठो हो । ऐतिहासिक भौतिकवादलाई मान्नेहरूमा सोही प्रकारको सोच,चिन्तन र शैली अन्यथा होइन । एक पटक नेतृत्वमा स्थापित भए पछि नेतृत्वबाट स्वेच्छिक अवकाश लिन अकबरी प्रजातन्त्रवादी नेतालाई मुश्किल पर्छ भने कम्युनिस्ट नेतामा लामो अबधि नेतृत्वमा रहन खोज्नु उसको आनुवंशिक गुण र स्वभावको निरन्तरता हो ।

प्रजातन्त्रको खोल ओढेर प्रजातान्त्रिक विरासत बोक्नेको हकमा समेत एकत्व र अधिनायकत्वको अभ्यास र रहर देखिन्छ भने जसको दार्शनिक धरातल नै एक मात्र पार्टी परिपाटीको छ, उसमा चमत्कारिक लोकतान्त्रिक अभ्यास देख्न खोज्नु विषयनिष्ठ बनेर विश्लेषण नगर्नु हो । कम्युनिस्ट पार्टीलाई बहुलताको अभ्यास र आन्तरिक पार्टी जनवादको अभ्यासमा असजिलो हुन्छ पनि । त्यसैले आन्तरिक लोकतन्त्र भनेर कांग्रेसले जे जति प्रशंसनीय अभ्यास आफ्नो महाधिवेशनमा गर्‍यो, त्यो कम्युनिस्ट पार्टीको हकमा नहुनु तीव्र विमतिको विषय होइन । बरु लोकतान्त्रिक अभ्यासमा आफूलाई ढाल्दै लान खोजेको सकारात्मक पक्ष हेरियो भने त्यो बुझाइ र विश्लेषण सत्यको नजिक हुनसक्छ ? माओवादीहरू अहिले संसदवादको जुन गोलचक्करमा छन् यो उनीरुको राजनीतिक दार्शनिक जिनको उपज होइन । संसदवाद नै आफ्नो उद्येश्य र राजनीति नभएकाको लागि यो प्रकारको राजनीति सहज होस् पनि कसरी ? केवल थ्यौंरी अफ नेसेसिटीको एप्लाई हो ।

अहिले कम्युनिस्टहरूले गरेको राजनीति मूलतः माओवादी केन्द्रको लागि यो झन् अनौठो प्रयोग हो । तसर्थ मान्छेहरूले जे जसरी चाहेका छन्, त्यो त्यसरी उनीहरू हुन आजको भोलि सम्भव छैन । तीन दशक अघिदेखि संसदीय राजनीति गरेको एमाले समेत आफ्नो पार्टीको लोकतान्त्रिक र आन्तरिक प्रजातान्त्रिक अभ्यासमा चुक्दै आएको छ भने सर्वत्र प्रशंसा गरिएको कांग्रेस समेत आफ्नो महाधिवेशनमा ७७ जिल्लामा १६ जिल्लाको अधिवेशन गर्न नसक्दै केन्द्रीय महाधिवेशन गर्न विवश भएको तथ्य आँखा चिम्लनु हुन्न । यसर्थ एमाले, राप्रपा, कांग्रेस र माओवादी केन्द्रले जे जसरी आन्तरिक लोकतन्त्रको अभ्यास गरेर आ–आफ्नो गच्छे अनुसार महाधिवेशन सम्पन्न गरे यो सुखद र नेपालको प्रजातान्त्रिक प्रणालीको मजबूतिको संकेत भनेर मान्न सकिन्छ । सबै पार्टी र शक्तिसँग सामथ्र्य, सीमा र शैलीहरू छन् । तिनै सवलता र दुर्वलतालाई टेकेर आम मान्छेले पार्टीहरूको मूल्याङ्कन गर्ने हुन् ।

आन्तरिक चुनाव नगरेर माओवादीहरू र बल्लतल्ल बाध्य भएर आन्तरिक चुनाव गरेर एमालेले आफ्नो नेतृत्व चुन्नुमा खासै अन्तर छैन । आन्तरिक लोकतन्त्रको चुनावमा केन्द्रीय पदाधिकारी र सदस्य समेत चुनेर राप्रपा र कांग्रेसले जुन अभ्यास गरे त्यो निःसन्देह राजनीतिक पार्टीको लागि अनुकरण गर्न लायक सुन्दर मार्ग हो । यद्दपि सुन्दरतालाई पारख गर्ने आ–आफ्ना दृष्टिकोण र मापदण्ड हुन्छन् । जसमा व्यक्ति होइन विचार प्रमुख हुन्छ । विचार माथिको बहस र छलफल चलाउने पार्टीको रुपमा भने माओवादी केन्द्र एक नम्बर पार्टी बन्यो । अध्यक्ष प्रचण्डको दस्तावेजलाई चुनौती दिने काम राम कार्की र लेखनाथ न्यौपाने सम्मले गरे । लेखनाथले प्रचण्डको प्रतिवेदनलाई जमिनमा खुट्टा नटेकेको भनेर समेत काउन्टर अट्याक गरे । प्रचण्डको विरोध र उनका बिरुद्द बिमति अत्यन्त आपत्तिको विषय हुने विगत भएको माओवादीमा आज उनको चर्को आलोचना गरिएको दस्तावेज पुरक दस्तावेजको रुपमा समावेश गरियो । दस्तावेजमानै प्रचण्डले आफ्नो आचरण शैली र बानीलाई सुधार्ने कसम खाए । अप्रश्नीय प्रचण्ड प्रश्ननै प्रश्नको घेरामा परे । अन्य नेता र तिनका बारेमा पनि यथेस्ट टिप्पणी आलोचना र तर्क भए वादविबाद भयो । अध्यक्ष प्राधिकार सम्पन्न बन्ने पार्टीमा यो हदको अभ्यास निश्चयनै शुभ लक्षण र माओवादीको खुला परिवेशको लोकतान्त्रिक अभ्यास र आचरण हो । आत्माआलोचना पार्टीले र तिनका नेताहरूले मात्र सुन्ने गरि मात्रै नभएर संसारले सुन्ने बुझ्ने गरि हुनु अत्यन्त सह्रानीय कुरा हो । यति लोकतान्त्रिक अभ्यासको लागि नेकपा माओबादी धन्यवादको पात्र छ ।

विचार र बहस बन्देज गरेर नेताले जे बोले त्यो सर्वस्वीकार्य बन्ने बनाउने अभ्यासलाई छोडेर विचार माथि सबैको स्वामित्व र अपनत्व हुने गरि समूह बनाएर बहस गरिनु त्यसको निष्कर्ष निकालिनु माओवादी केन्द्रले अरुलाई समेत सिकाएको उदाहरण र भोलिको लागि बसाएको असल नजिर हो । खराब नजिर मात्रै बसाउने आरोप खेपेको माओवादीले आफ्नो सर्वोच्च थलोमा विधि र प्रक्रिया पारदर्शी गरेर जे गर्यो त्यसले अरु दल र नेतालाई आफ्नो पार्टीको वैचारिक बहश देखाएर पढाउने ल्याकत देखाउने स्थानमा उभियो । आम माओवादी नेताकार्यकर्ताहरूले अधिनायकवादी शैली भएको माओवादी भन्नेहरूलाई छाती ठोकेर जबाफ दिने विषय निर्माण गर्‍यो । पार्टी जीवन र पार्टी पद्दतिमा अरुलाई उपदेश दिन सक्ने गरि नयाँ र लोकतान्त्रिक विधिको अभ्यास गर्नु आफ्नै बुतामा गतिलो सुर राख्नु हो, जुन माओबादीको ८ दिनसम्म चलेको अधिवेशनको प्रधान उपलब्धिको रुपमा रहनेछ । यसर्थ माओवादीले अरुलाई देखिने सुनिने र बुझिनेगरी सिकायो पनि । आफ्नो आन्तरिक जीवनको रूपान्तरण मात्रै गरेन राष्ट्रिय अन्तर्राष्ट्रिय सन्देश पनि प्रवाह गर्यो । चुनावमा माओवादी ठूलो पार्टी बन्ला नबन्ला तर विचारलाई सामयिक परिमार्जन गर्दै लग्यो भने राजनीति चुनावी जीतहार तत्कालको लाभ हानीको विषय नबनेर राष्ट्रिय राजनीतिमा एउटा विशिस्ट स्थान बन्ने अवस्था सिर्जना हुन्छ ।

चुनावी नतिजा सत्तामा उपस्थिति राजनीतिक दलको प्रमुख उद्देश्य भए पनि सिद्दान्त निष्ठा र आदर्श शसक्त हुँदा चुनावी पराजय नै अन्त्य होइन । सैद्दान्तिक विचलन नहुदा हार पीडादायी बन्दैन स्वाभाविक बन्छ । एक हार अर्को जितको खुड्किलो बन्न सक्छ । विगतका गल्ति कमि कमजोरीप्रति भयानक आत्माआलोचना गर्दै भविष्यमा जनमुखी दल बनाउने घोषणा उत्कृष्ट छ । तर त्यसको व्याबहारिक कार्यन्वयन आफैमा जटिल विषय र दुरुह अभ्यास हो । जसको शुरुवात आज र अहिलेनै स्वयं अध्यक्ष प्रचण्डबाट गर्नु पर्ने अवस्था विध्यमान छ ।विधानतः अधिवेशनको हलबाट २९९ जना केन्द्रीय कमिटिका नेता चुनिनु पर्नेमा २३६ मात्र प्रचण्ड कमरेडको कोटको खल्तीमा परेका अनुमोदन हुनुले बोली अनुसारको व्यबहार प्रतिबद्दता अनुसारको आचरणमा आजै र अहिल्यै विघ्नबाधा देखिदा प्रश्न,शंसय र आरोप कसरी अस्वाभाविक होला र ?

मंसिर २५ गते आफ्नो पार्टीको प्रदेश सम्मेलनलाई भर्चुल सम्बोधन गर्दै प्रचण्डले एमाले महाअधिवेशन तर्फ इंगित गर्दै भनेका थिए – ‘त्यहाँ न कुनै विचार,न कुनै बहस,न कुनै विधि,न कुनै पद्दति । निरंकुशता, विचार शून्यता र विचार विहीन अधिवेशन एमालेले गर्यो ।’ विचारको बहस र छलफललाई प्रचण्डले निषेध गरेनन् उत्प्रेरित नै गरे । तर अरु चै के – के पूरा गरेनन् जुन ओलीलाई उनले आरोपित गरेका थिए ? फरक –फरक चुलोमा दाल बसाले पनि कम्युनिस्ट लिगेसी हुनुको अर्थमा प्रकारान्तर या परोक्षरुपमा जसरी भने पनि कम्युनिस्टहरू सबै एकै बिजका फरक– फरक हाँगा हुन् । वचन र क्षमायाचानालाई व्यवहारको कसीमा उतार्न तर्फ पनि माओवादी र प्रचण्डको ध्यान जानु आवश्यक छ । विमर्श हुनु जरुरि छ, अन्यथा कथनी र करनीमा पृथकता देखिन्छ । जसले प्रतिवद्वता खोस्टो कागजमा सिमित गराउने छ । माओवादी केन्द्रको महाधिवेशनमा केन्द्रीय सदस्य र पदाधिकारी फ्लोरले चुन्ने सुविधा प्रदान गरेको भए देश भरका कार्यकर्ताले मूल्याङ्कन गरेका र तिनका नजरमा जँचेका नेता चुनिने अत्याधिक सम्भावना रहन्थ्यो । तर नेताले छान्ने र हूक लगाएर तान्ने अभ्यासले नेताको नजरमा परेका मान्छे मात्रै योग्य लाग्छन र हावी हुन्छन् । जसको उदाहरण हो केन्द्रीय सदस्यमा बिभिन्न पारिवारिक वर्चस्वको आधारमा मनोनयन गर्नु र १२ जोडी (पतिपत्नी) लाई मनोनित गर्नु पर्ने बाध्यता । विगतमा पटक –पटक अवसर पाएका जोडीलाई दुनियाँले खिज्याउने गरि ल्याउनुपर्ने अवस्थाबाट प्रचण्डलाई बचाउँथ्यो । यदि चुनावी प्रक्रिया अबलम्बन मार्फत नेतृत्व चुनिएको भए ।

कांग्रेसमा शेरबहादुर पत्नी र बालकृष्ण खाँण पत्नी निर्वाचित भएर आउँदा समेत कोटामा परेको र पारिएको भनेर बिरोध छ । झन् प्रचण्डले आफ्नो छनौटमा पारेर विरोधीलाई आलोचना गर्ने गजब अवसर दिएर नकाम गरे । नेकपा माओवादी विशेषतः प्रचण्डले महाधिवेशन कस्तो र कसरी गर्ने नेकपा एमाले र ओलीको सिको नगरेर राप्रपाका कमल थापा र कांग्रेसका शेरबहादुर देउवाको सिको गरेको भए सबैभन्दा अब्बल प्रजातान्त्रिक र मूल्यवान महाधिवेशन नेकपा माओवादी केन्द्रको बन्ने सुनिश्चित थियो । असल कुरा सिक्न जो जससँग पनि सकिन्छ होइन र ?

माओवादीले वैचारिक खुराक लिन/दिन पर्याप्त छलफल,बहस,विवाद र विनिमय गर्‍यो, तर नेता चुन्न र छान्न कार्यकर्तामा विश्वास गरेन । वैचारिक बहस आफ्नो सबैभन्दा ठूलो र महत्वपूर्ण थलोमा गर्नुपर्छ भनेर सिकायो । तर नेता चुन्न कांग्रेस लगायत दलले देखाएको उदारता देखाउन सकेन, जुन छुटाउन नहुने विषय र प्रसंग थियो । प्रचण्डलाई अध्यक्षमा टक्कर दिने कोही थिएनन् । तर आफ्नो लोकप्रियता र पार्टी भित्रको शक्ति सन्तुलन जाँच्न पनि आफूसँग प्रतिष्पर्धा गर्न प्रचण्डले नेताहरूलाई निम्ता दिनु पर्थ्यो।

कांग्रेसमा स्वर्गीय गिरिजा प्रसाद कोइरालासंग भिड्ने आँट गर्दा चिरिञ्जीवी वाग्लेलाई जित्छु भन्ने थिएन । झन् देउवालाई पटक –पटक सभापति लड्दा जित्ने आँकलन भएर चुनाव लडेका होइनन् । केवल आन्तरिक प्रजातान्त्रिक अभ्यास गरेका र निर्विकल्प कोही हुदैन भन्ने सन्देश दिन खोजेका थिए । त्यस्तो अभ्यासमा प्रचण्डले निषेध र प्रतिशोध नराख्ने गरि कसैसँग प्रतिष्पर्धा गर्ने रहर गर्नुपर्थ्यो । जसले प्रचण्ड पछिको नेतृत्व निर्माणमा मद्दत गथ्र्याे । प्रचण्ड सर्वसम्मत अध्यक्ष निर्वाचित भएका छन् उनलाई र आफ्नो आठौँ महाधिवेशन सम्पन्न गरेका नेकपा माओवादी केन्द्रका समस्त नेता कार्यकर्ताहरूलाई बधाई र शुभकामना ।