३१ असार २०८२, मंगलबार | Wed Jul 16 2025


भोकसँग जुध्न छोराछोरी बेच्दै अफगानी


1.56k
Shares

काठमाडौं । अनिकाल र युद्धका कारण विस्थापित सर्वसाधारणको बसोबास तथा माटो र इँटाले बनेका बाक्ला घरको बाहुल्य रहेको पश्चिम अफगानिस्तानको एक घना बस्तीमा एक महिला छोरीलाई बचाउन संघर्षरत छिन्।

अजिज गुल नाम गरेकी ती महिलाका पतिले उनलाई थाहै नदिई १० वर्षीया छोरीलाई विवाहका नाममा बिक्री गरेका थिए। अरू ५ बालबालिकाको भरणपोषणका लागि उनका पतिले अग्रिम भुक्तानीमा ती छोरीलाई बेचेका थिए। छोरीलाई बेचेर भएको आम्दानीले अरू सदस्य भोकभोकै बस्नुनपर्ने उनका पतिको तर्क थियो। परिवारका अरू सदस्यलाई बचाउन एकजनाको बलिदान गर्नुपरेको धारणा उनको थियो।

गरिबीका कारण अफगानिस्तानका अरू कैयन असहाय अभिभावक यस प्रकारको निराशाजनक निर्णय लिन बाध्य छन्। तालिबान समूहले अफगानिस्तानलाई नियन्त्रणमा लिएपछि गत अगस्तमा अमेरिकी तथा नाटो सैनिक बाहिरिएका थिए। बाह्य अुनदानमा आश्रित अफगानिस्तानको अर्थतन्त्र विदेशी सैनिकको बहिर्गमनअगाबै कमजोर थियो।

यसबीच तालिबानसँग सहकार्य गर्न अनिच्छुक विश्व समुदायले देशबाहिर रहेको उसको सम्पत्ति फ्रिज गरेको छ भने अन्य अनुदान पनि रोकेको छ। २० वर्षअघि सत्तामा रहँदा तालिबानले गरेको ज्यादती फेरि दोहोरिन सक्ने आशंका विश्व समुदायलाई छ। चार दशक लामो युद्ध खेपेको यो देश चर्को खडेरी तथा कोरोना भाइरस महमारीका कारण संकटमा छ। डाक्टरसहित अन्य सरकारी कर्मचारीले महिनौंदेखि मासिक तलब पाउन सकेका छैनन्। कुपोषण तथा गरिबीका कारण यहाँको ठूलो जनसंख्या जोखिममा छ। दातृ संस्थाका अनुसार अफगानिस्तानको आधा जनसंख्या गम्भीर खाद्य संकटमा छ।

नागरिक