
– ध्रुव भट्टराई/ ईमेज
भोजपुुर । आमचोक गाँउपालिका र उदयपुरको चौदण्डीगढी गाउँपालिका जोड्ने पुल ५ वर्ष बितिसक्दा पनि निर्माण हुन सकेको छैन । खोटाङ र भोजपुरवासीलाई तराईमा आवतजावत गर्दा सहजता हुने भए पनि पुल निर्माण हुने कुनै सुरसार देखिँदैन ।
यो प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईको आमचौक गाँउ जाने सहज बाटोमा निर्माणाधीन अबस्थामा रहेको पुल हो । जुन पुल आगामी असार मसान्तसम्म निर्माण सम्पन्न गर्नुपर्ने हो ।
तर निर्माण शुरु भएको पाँच बर्षको अवधिसम्म भर्खर नदी वारीपारी पिल्लर राख्ने वेस मात्र निर्माण भइरहेको छ । २०७१ असारमा रसुवा एसएन एस पप्पुु जेविले २४ करोड रुपैयाँको लागतमा पुल निर्माण गर्ने सम्झौता भएको थियो ।
तर पुलको निर्माणको काम गरिरहेको स्वच्छन्द निर्माण सेवाले भने निर्माण सामग्री ल्याउन बाटोको समस्या भएको भन्दै निर्माणमा आलटाल गरिररहेको छ ।
सो क्षेत्रका सडक कालोपत्रे भइसक्दा पनि ठेकेदारको कारण पुल निर्माणमा ढिलाइ हुँदा स्थानीय भने चिन्तित देखिन्छन् । भोजपुर र खोटाङका जनता तराई झर्ने मुख्य नाका रहेको उक्त स्थान सडक सञ्जालले जोडिएपनि दुधकोशी नदीमा पक्की पुल नहुँदा चार पांग्रे सवारी गुड्न सकेको छैन ।
जसका कारण त्यस भेगका जनताको दैनिकी असहज बन्न पुगेको छ । गाँउ पुग्ने पुलको अवस्था देखेर मुख्यमन्त्री राईलाई पनि चित्त बुझेको छैन ।
पुल निर्माणको कामको गति अति नै सुस्त भएको भन्दै मुख्यमन्त्री राईले पुल स्थलमै पुगेर पुल निर्माणको कामलाई गति प्रदान गर्न निर्माण कम्पनीलाई निर्देशन समेत दिएका छन् ।
भोजपुरको कर्णालीको परिचय पाएका कतिपय गाउँ यतिबेला रित्तिने अवस्थामा छन् । विकासका पूर्वाधारको सहज पहुँन नहुनु र कृषि उत्पादनले बजार नपाउनुले धेरै स्थानीय तराईतिर बसाइ सर्नेे क्रम रोकिएको छैन ।
पुल बनेपछि दैनिक हजारौँ जनतालाई तराईसम्म आवतजावत गर्न राहत मिल्ने भए पनि यसतर्फ सरोकारवालाको पर्याप्त ध्यान अझै पुग्न सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्