काठमाडौं । सहमतिका लागि थप गृहकार्य गर्ने भन्दै माओवादी केन्द्रले जारी आठौँ महाधिवेशनको बन्दसत्रमा सुरु भइसकेको निर्वाचन प्रक्रिया स्थगन गरेको छ । महाधिवेशन आयोजक समितिको छलफलले सर्वसम्मत नेतृत्व चयनका लागि गृहकार्य गर्ने भएपछि निर्वाचन प्रक्रिया स्थागित भएको हो । निर्वाचन समितिले आज दिउँसो २ बजेबाट लागू हुने गरी कार्यतालिकासमेत हेरफेर गरेको छ ।
पार्टीको केन्द्रीय निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै कार्यान्वयन थाले पनि नेताहरू सर्वसम्मतकै कोसिसमा जुटेका थिए । तर, शनिबार दिनभर सहमतिको प्रयासका लागि महाधिवेशन आयोजक कमिटीको प्रदेशस्तरीय छुट्टाछुट्टै छलफल चले पनि निष्कर्ष भने निस्कन सकेन । यस्तो छलफल आइतबार ११ बजे स्थायी कमिटी बैठकअगाडिसम्म जारी रहने नेताहरूले बताएका छन् ।
शनिबार दिउँसो १ बजे सुरु भएको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘केन्द्रीय कमिटी सहमतिबाटै चयनका लागि अधिकतम प्रयास गर्ने र सहमति हुन नसके लोकतान्त्रिक विधिबाट चयन गर्ने’ भन्दै निर्वाचन कार्यतालिका स्थगित गर्ने प्रस्ताव हलमा राखेका थिए । प्रचण्डको प्रस्ताव अनुमोदन भएपछि सहमतिबाट केन्द्रीय कमिटी चयनका लागि महाधिवेशन आयोजक समितिमा दिनभर छलफल चलेको थियो । आयोजक कमिटीले साँझ साढे ६ बजेसम्म प्रयास गर्दा पनि सहमति नजुटेपछि पौने ७ बजे सुरु भएको बन्दसत्र आइतबार दिउँसो १ बजेसम्म गृहकार्य गर्ने भन्दै पुनः स्थगित भएको छ ।
माओवादी केन्द्र स्रोतका अनुसार महाधिवेशन आयोजक कमिटीको प्रदेशस्तरीय छलफलले आ–आफ्नो प्रदेशबाट केन्द्रीय समितिमा सहमतिबाट आउने आकांक्षीको प्रारम्भिक सूची तयार पारेर केन्द्रीय कार्यालयमा बुझाएको छ । अरू सबै प्रदेशले आफ्नो छलफल टुंग्याए पनि प्रदेश २ मा केही विवाद देखिएकाले आकांक्षीको सूची बुझाएको छैन । ‘आयोजक कमिटीको छलफलले सहमतिका लागि गरेको प्रयास सकारात्मक निष्कर्षउन्मुख छ । प्रदेशस्तरीय छलफलका लागि बनेका आठमध्ये सातवटाले प्रारम्भिक सूची नै बुझाइसक्नुभएको छ,’ स्रोतले भन्यो, ‘प्रदेश २ मा केही समस्या देखिएको र आइतबार बिहान स्थायी कमिटीको बैठक बस्नुअघि बुझाउने भन्ने भएको छ ।’










प्रतिक्रिया दिनुहोस्