
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित भएको छ ।
माओवादी केन्द्रको आठौं महाधिवेशनमा अध्यक्ष प्रचण्डले पेस गरको राजनीतिक प्रतिवेदनमा विभिन्न २५ समूह बनाएर छलफल भएको थियो । अध्यक्ष प्रचण्डले समूहगत छलफलपश्चात् आएका सुझाव समेटिने प्रतिबद्धता व्यक्त गरेपछि शुक्रबार परिमार्जनसहित प्रतिवेदन पारित भएको नेता श्रीराम ढकालले बताए ।
राजनीतिक प्रतिवेदनमा नेताले उठाएको प्रश्न र जिज्ञासाको जवाफ दिँदै अध्यक्ष प्रचण्डले आएका सुझावलाई समेटिने प्रतिबद्धता व्यक्त गरेका थिए । साथै, उनले विचारको विकास गर्न पार्टीले निर्वाचनलगतै विशेष महाधिवेशन गर्ने जनाए ।
विचारको विकासका लागि अझै अध्ययन, अनुसन्धान तथा बहसको आवश्यकता भएको र यो महाधिवेशनले प्रतिवेदनमार्फत त्यसको सुरुवात गरेको उनले बताए । अहिलेको दस्तावेजलाई पूर्ण दस्तावेजका रूपमा नबुझ्न आग्रह गर्दै उनले विशेष महाधिवेशनमा विशेष रूपले बहस तथा छलफल हुने दृढता व्यक्त गरे ।
अध्यक्ष प्रचण्डले पार्टीको आठौं महाधिवेशनले सबैको ध्यानाकर्षण गरेको बताए । उनले माओवादी शक्तिशाली भएर पुरानै अवस्थामा फर्किन्छ कि भन्ने चिन्ता बाहिर देखिएको जनाए । उनले नेपाली जनताका सपना पूरा गर्न आवश्यक परे जस्तोसुकै बलिदान गर्न तयार रहेको बताए । माओवादी आन्दोलन जतिसुकै बिग्रेको भए पनि क्रान्तिकारी पार्टी निर्माणका लागि जस्तोसुकै त्याग गर्न आफू तयार रहेको उनले स्पष्ट पारे ।
प्रतिक्रिया दिनुहोस्