१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024


विश्व वरीयतामा नेपाली महिला भलिबल


0
Shares

काठमाडौं, माघ २२ । अन्तर्राष्ट्रिय भलिबल महासंघ (एफआइभीबी)ले सार्वजनिक गरेको विश्व वरीयतामा नेपालले ८७औं स्थान हासिल गरेको छ ।

विश्व भलिबलको सर्वोच्च निकाय एफआइभीबीले बुधबार सार्वजनिक गरेको वरीयतामा नेपालको राष्ट्रिय महिला भलिबल टोलीले ८७औं स्थान हासिल गरेको हो ।

एफआइभीबीले अन्तर्राष्ट्रिय सहभागिता र सफलताका आधारमा विश्व वरीयता निर्धारण गर्दै आएको छ । वरीयताक्रममा नेपालको ५७ अंक रहेको छ ।

नेपाली महिला भलिबल टोलीले बंगलादेशमा यसै वर्ष सम्पन्न एभीसी सेन्ट्रल जोन महिला भलिबलको उपाधि हासिल गरेको थियो ।

त्यस्तै, नेपालमा नै आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपाली महिला टोलीले ऐतिहासिक रजतपदक हात पारेको थियो ।

त्यसैगरी, वरीयताक्रममा भारत ९७ अंकसहित ५४औं स्थानमा छ । विश्व वरीयताको शीर्ष स्थानमा भने चीन छ । ३९१ अंक जोड्दै चीन शीर्ष स्थानमा रहेको हो ।

३८२ अंक रहेको अमेरिका दोस्रो तथा ३२८ अंक रहेको ब्राजिल तेस्रो स्थानमा छ ।

यस्तै, इटाली चौथो, टर्की पाँचौं, सर्विया छैटौं, जापान सातौं, रसिया आठौं, डोमिनिक गणतन्त्र नवौं र दक्षिण कोरिया दशौं स्थानमा छन् । रासस