दीपक श्रेष्ठ
काठमाडौं, पुष १५ । बचतकर्ताको अरबौं रकम गोलमाल गरेको अभियोगमा झण्डै दुई महिनादेखि प्रहरी हिरासतमा रहेका सिभिल ग्रुपका पूर्वअध्यक्ष इच्छाराज तामाङ र वर्तमान अध्यक्ष केशवलाल श्रेष्ठलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । तामाङसहितका प्रतिवादीहरूलाई ५ अर्ब ६७ करोड ५५ लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले पक्राउ गरेको थियो ।
मुद्दाको अन्तिम टुंगो नलागेसम्म तामाङ थुनामै रहनेछन् । तर उनले जिल्ला अदालतको आदेश विरुद्ध पाटन उच्च अदालतमा अपिल गर्न सक्ने कानूनी व्यवस्था छ । तामाङ, उनकी पत्नी र छोरीसहित ४२ जनाविरुद्ध ठगी मुद्दा दायर भएको थियो । अदालतको आदेशपछि पीडितहरु आशावादी देखिएका छन् । दोषीमाथि कारवाही भई आफ्नो निक्षेप सुरक्षित हुनुपर्ने पीडितहरु आशामा छन् ।
अदालतले प्रहरीले प्रतिवादी बनाएका १२ जना मध्ये ९ प्रतिवादीलाई धरौटीमा रिहा गर्न आदेश गरेको छ भने एक जनालाई साधारण तारेखमा रिहा गरेको छ । साधारण तारेखमा रिहा हुनेमा संगीत श्रेष्ठ रहेका छन् । अदालतले प्रतिवादी हरिहर लामिछाने ५० लाख, विजय विक्रम शाही १५ लाख, भगवान डंगोलसँग १० लाख धरौटी मागेको छ । यस्तै अन्य प्रतिवादीवादीहरुसंग ५० हजारदेखि पाँच लाखसम्म मागिएको छ ।
सहकारीमा राखिएको निक्षेप सुरक्षित नहुँदा विरामी हुँदा समेत उपचार गर्न नपाएको पीडितहरुको गुनासो छ । पैसाको अभावमा उपचार नपाउँदा तीनजनाको ज्यान गइसकेको छ । समयमा पैसा नपाउदा बिरामीको राम्रो उपचार गर्न नपाउदा मृत्यु भएको मिरा धिताल भट्टराई बताउनुहुन्छ ।
निक्षेप रकम पाउन महिनौंदेखि सरोकारवाला निकायमा हारगुहार गरिहरहेका पीडितहरुले माइतीघरमण्डलामा समेत प्रदर्शन गर्दै आइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्