Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


चिसो बढ्यो, विपन्नलाई न्यानो पार्ने छैन पूर्वतयारी


78
Shares

चिसो बढेपछि महोत्तरीका अधिकांश दलित बस्तीमा जाडो छल्ने मुख्य साधन पराल बनेको छ । परालकै ओछ्यान र परालकै घुर तापेर चिसो छल्नुको विकल्प विपन्न दलित समुदायसँग छैन । अघिल्ला वर्षहरूमा महोत्तरीमा शीतलहरबाट मृत्यु हुनेको वास्तविक तथ्यांक कसैसँग पनि छैन । ०७४ मा भने तीनजनाको मृत्यु भएको प्रहरी तथ्यांक छ ।

गत वर्षझैँ यस वर्ष पनि सम्सी गाउँपालिका– ५ पोखरभिन्डाका सौखी सदाको परिवार चिसोमै कठ्यांग्रिन बाध्य छ । सरकारले गत वर्षको शीतलहरमा उनका लागि पक्की घर बनाइदिने प्रतिबद्धता जनाएको थियो । तर, एक वर्ष बितिसक्दा पनि उनको घर बन्न सकेको छैन । यो वर्ष पनि उनको परिवारले काठले अड्याइएको त्रिपालमुनि लालाबालासहित जाडो कटाउनुपर्नेछ ।

सौखीकी पत्नी ललिता सदाले आफ्नो घर देखाउँदै भनिन्, ‘गत वर्षकै चिसोमा घर बनाइदिने भनेर सरकारका मान्छेले आश्वासन दिएका थिए, तर अहिलेसम्म पनि सोधखोज गर्न कोही आएन ।’

दिनभरजसो आकाश धुम्म हुँदा मंगलबार देशभर चिसो बढेको छ । तराईका जिल्लामा शीतलहर सुरु भएको छ । शीत र स्याँठ नछेक्ने झुपडपट्टीमा पराल ओछ्याएर बस्न बाध्य विपन्न परिवारका वृद्धवृद्धा, बालबालिका र सुत्केरी उच्च जोखिममा छन् । तर, तीनै तहका सरकारले जोखिमका वेला अल्पकालीन राहतको योजनासमेत बनाएको छैन ।

नयाँ पत्रिका