उग्रताको जगमा पकड जमाउने सिके राउतको दाउ « Image Khabar


उग्रताको जगमा पकड जमाउने सिके राउतको दाउ


1.599k
Shares

काठमाडौं । काठमाडौंका दीपेशकुमार पौडेल आइतबार छोरीसहित विराटनगरबाट घर फर्किंदै थिए । सिरहाको गोलबजारस्थित मुख्य चोक पुगेपछि सडकभरि हातमा लट्ठीभाटासहित उभिएका मानिससँग जम्काभेट भयो । भिडले उनको प्रदेश ३–०१–०२३ च ८२९७ नम्बरको कारमाथि लट्ठीभाटा बर्साउन थाल्यो । गाडी छेउ लगाउन नपाउँदै सिसा चकनाचुर भयो । गाडीभित्रै रहेकी उनकी छोरी चिच्याउन थालिन् । छोरी सम्हाल्नु कि गाडी जोगाउनु, पौडेल निकै सकसमा परे ।

सडकमा उभिएका गोलबजार प्रहरी प्रमुख इन्सपेक्टर सन्तोष राईसमक्ष पुगेर घटनाबारे जानकारी गराउँदै उनले सुरक्षा मागे । र, केही घण्टाको विश्रामपछि सिसा फुटाइएको गाडी चलाएर सुरक्षा इस्कर्टिङमा काठमाडौंतर्फ लाग्दै गर्दा उनले भने, ‘जहाँको भए पनि भिड त भेडै हुँदोरहेछ तर मैले यो नियति भोग्नुमा सुरक्षाकर्मी दोषी हुन् । गोलबजारमा लगामविहीन उग्रता देखेपछि सुरक्षाकर्मीले हामीलाई पछाडि नै रोकिदिएको भए आज मसहित अरू थुप्रै मानिसको सम्पत्ति जोगिने थियो’, उनले भने, ‘सुरक्षाकर्मीले लगामविहीन उग्रतालाई निरीह बनेर हेरिदिँदाको मार हामीजस्ताले भोग्नुपर्‍यो । सर्वसाधारणलाई क्षति पुर्‍याएर राज्यलाई सुनाउने कृत्य रोकिनुपर्छ ।’

ना५ख ५२२ नम्बरको ट्रकका चालक विशाल तिमलसिना उदयपुरको गाईघाट जाँदै थिए । ट्रक गोलबजार नगरपालिकाको चोहर्वा चोक पुगेपछि चारैतिरबाट ढुंगा बर्सिन थाल्यो । गाडी रोकेर अगाडि हेर्दा लाठीभाटासहित मानिसको भिड ट्रकतिर दौडिँदै थियो ।

अत्तालिएका चालक तिमलसिना हामफालेर उत्तर बस्तीतिर भागे । एउटा घरमा लुकेर ट्रकतिर हेर्दा आगो दन्किरहेको थियो । तिमलसिना ज्यान जोगाएर सुरक्षित हुँदासम्म भिडले उनको ट्रकमा आगो फुकिसकेको थियो । केही बेरमा प्रहरीसहित वारुणयन्त्र आएर ट्रकको आगो निभाउने प्रयास गरेको थियो । प्रहरी आएपछि दौडिँदै आएका तिमलसिना भक्कानिँदै आफ्नो ट्रकमा आगो फुक्नुको कारण सोधिरहेका थिए ।

नागरिक