काठमाडौं । स्थानीय तहका पदाधिकारीको कार्यकाल सकिने समयावधि नजिकिँदै गर्दा नयाँ नेतृत्व छान्न निर्वाचन आयोगले एकै चरणमा आगामी वैशाख १४ मा चुनावको मिति तोक्न सरकारसमक्ष प्रस्ताव गरेको छ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालगायत पदाधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवालगायतलाई भेटेर स्थानीय तहको चुनाव २०७९ वैशाखभित्र गर्न आयोग तयार रहेको जानकारी दिँदै सरकारलाई मिति तोक्न प्रस्ताव गरेका हुन्।
‘कानुनबमोजिम स्थानीय तहको निर्वाचन आगामी वैशाखमा गर्नुपर्ने भएकाले सम्पूर्ण सुरक्षा व्यवस्था मिलाई सबै स्थानीय तहको निर्वाचन एकै दिन गर्नु उपयुक्त हुने हुँदा २०७९ वैशाख १४ लाई मिति तोक्न उपयुक्त हुने’ भन्दै निर्वाचन आयोगले सरकारलाई प्रस्ताव गरेको हो। त्यसैगरी कुनै कारणले सम्भव नभए पहिलो चरण वैशाख १४ र दोस्रो चरण वैशाख २२ मा गर्न सकिने प्रमुख निर्वाचन आयुक्त थपलियाले जानकारी गराएका थिए।
प्रधानमन्त्री देउवाले राजनीतिक दलहरूसँगको छलफलपछि स्थानीय तहको निर्वाचनका लागि आयोगद्वारा प्रस्तावित मितिमा निर्णय लिने जवाफ दिएका थिए। आयोगले निर्वाचनमा भोटिङ मेसिन प्रयोग गर्न सकिने जानकारी पनि सरकारलाई गराएको छ। राजनीतिक दलले सहमति जनाए केही निश्चित क्षेत्रमा भोटिङ मेसिन प्रयोग गर्न सकिने आयोगले बताएको हो। स्थानीय तहको निर्वाचन भएको पाँच वर्ष पुग्न थाल्दा २०७९ जेठमा गाउँपालिका, नगरपालिका, उपमहानगरपालिकामा निर्वाचित प्रमुख, उपप्रमुख, वडाध्यक्ष, सदस्यको समयावधि सकिँदैछ। उपयुक्त मितिमा निर्वाचन गराउन निर्वाचन आयोगको सिफारिसमा सरकारले मिति तोक्ने कानुनी प्रावधान छ।










प्रतिक्रिया दिनुहोस्