कांग्रेस महाधिवेशन : कार्यसमितिमा कुन समूहका कति सदस्य « Image Khabar


कांग्रेस महाधिवेशन : कार्यसमितिमा कुन समूहका कति सदस्य


1.391k
Shares

काठमाडौं । कांग्रेसको १४औँ महाधिवेशनबाट केन्द्रीय कार्यसमितिको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । मतपरिणामअनुसार नवनिर्वाचित केन्द्रीय कार्यसमितिमा सभापति शेरबहादुर देउवा समूहको दुईतिहाइ बहुमत आएको छ ।

निर्वाचित हुने एक सय ३४ सदस्यीय केन्द्रीय कार्यसमितिमा देउवा समूहका एक सय नौजना विजयी भएका छन् । दुईतिहाइका लागि निर्वाचित केन्द्रीय कार्यसमितिमा ९० जना भए पुग्छ । यसबाहेक केन्द्रीय कार्यसमितिमा कोइराला समूहका २२, सिंह समूहका दुई र कतै नखुलेका पूर्वमहामन्त्री शशांक कोइराला विजयी भएका छन् ।

नयाँ नेतृत्व चयनका लागि गत २४ मंसिरमा सुरु भएको महाधिवेशनअन्तर्गत २७ मंसिरमा भएको मतदानको अन्तिम परिणाम बिहीबार सार्वजनिक भएसँगै निर्वाचित हुने केन्द्रीय कार्यसमितिको टुंगो लागेको हो । बिहीबार खस–आर्यतर्फको १३, आदिवासी–जनजातितर्फको १५ र दलिततर्फको नौ पदको परिणाम आएपछि कांग्रेसको निर्वाचित हुने केन्द्रीय समितिले पूर्णता पाएको छ । यी तीन क्लस्टरबाहेक अन्यको मतपरिणाम यसअघि नै आइसकेको थियो ।

मतपरिणामअनुसार दलित खुलातर्फ पाँचमध्ये देउवा समूहका चारजना विजयी भएका छन् । एकजना भने कोइराला समूहका विजयी भएका छन् । दलित महिलातर्फ भने चारजना नै देउवा समूहका विजयी भएका छन् । यस्तै, आदिवासी–जनजाति खुलातर्फ आठमध्ये सातजना देउवा समूहका विजयी भएका छन् भने एकजना कोइराला समूहका विजयी भएका छन् । त्यस्तै, आदिवासी–जनजाति महिलातर्फ भने सातैजना देउवा समूहका विजयी भएका छन् । खस–आर्यको खुलातर्फ सातमध्ये ६ जना देउवा समूहका छन् भने महिलातर्फ ६ जनामध्ये पाँचजना देउवा समूह र एकजना कोइराला समूहका विजयी भएका छन् ।

नयाँ पत्रिका