१९ जेष्ठ २०८०, शुक्रबार | Fri Jun 2 2023


हत्या आरोपी तीन भारतीय त्रिभुवन विमानस्थलमा पक्राउ परे, प्रहरी अधिकारीले गुपचुप भारतलाई बुझाए


5.915k
Shares

काठमाडौं । त्रिभुवन विमानस्थलमा पक्राउ परेका हत्या आरोपी तीन भारतीयलाई नेपाल प्रहरीका केही अधिकारीले गुपचुप भारतलाई बुझाएको खुलेको छ । गृह मन्त्रालयले यस विषयमा छानबिन गरी सम्बन्धित प्रहरी अधिकारीमाथि कारबाहीको तयारी गरेको छ । 

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डिएसपी नमराज भट्टराई नेतृत्वको टोलीले मोहम्मद नुर (पासपोर्ट नम्बर एन ३६१९७०१), मोद रसाद (पासपोर्ट नम्बर आर ४७८७६५५०) र यासिर अरफत (पासपोर्ट नम्बर टी ५१९३११५)लाई ५ कात्तिकमा विमानस्थलबाट निस्किएलगत्तै पक्राउ गरेको थियो ।

उनीहरू संयुक्त अरब इमिरेट्स (युएई)को सारजहा विमानस्थल हुँदै नेपाल आएका थिए । गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई नै जानकारी नगराई उनीहरूलाई भारत पु¥याएर प्रहरीको जिम्मा लगाइएको थियो । नुरको घर चन्डिगढ तथा रसिद र अरफतको जम्मु–कस्मिर हो । 

अध्यागमन विभागबाट प्राप्त विवरणअनुसार उनीहरू ५ कात्तिकको साँझ काठमाडौं आएका थिए । अग्रिम रूपमा होटेल बुकिङ र सम्पर्क व्यक्तिको नामसमेत खुलाएर नेपाल आएका थिए । घटना थाहा पाएपछि मन्त्रालयले छानबिन गरी प्रतिवेदन बुझाउन प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको थियो ।

प्रहरी प्रधान कार्यालयले एक डिआइजीको नेतृत्वमा छानबिन गरी गृह मन्त्रालयलाई प्रतिवेदन बुझाइसकेको छ । ‘मन्त्रीज्यूले यसमा संलग्न प्रहरीलाई कस्तो कारबाही गर्ने भन्नेमा आन्तरिक छलफल गरिरहनुभएको छ,’ गृह मन्त्रालय स्रोतले भन्यो । 

प्रतिवेदनमा प्रहरी प्रधान कार्यालयलाई समेत जानकारी नदिई अवैध रूपमा सुपुर्दगी गरिएको उल्लेख छ । ‘छानबिनका क्रममा प्रहरीले नै ती भारतीयलाई स्कारपियो गाडीमा राखेर सुनौली नाका हुँदै भारतमा लगेर बुझाएको पुष्टि भयो,’ छानबिनमा संलग्न एक अधिकारीले भने, ‘एउटा देशको सुरक्षा निकायले माथिल्लो निकायलाई जानकारी नदिई अर्काे देशलाई बुझाउनु असाध्यै गम्भीर विषय भएकाले यसमा थप छानबिन गरी कारबाही गर्न भनेका छौँ ।’ 

नयाँपत्रिका