‘चासोक’मा चासो, नयाँ पुस्ताले निरन्तरता नदिँदा मासिने जोखिम « Imagekhabar – Online News Portal of Nepal
११ आश्विन २०७९, मंगलवार | Wed Sep 28 2022


‘चासोक’मा चासो, नयाँ पुस्ताले निरन्तरता नदिँदा मासिने जोखिम


182
Shares

तेह्रथुम । ‘याक्वा’ गरी अर्थात प्रकृतिसँग अनुमति मागेर मात्र लिम्बूहरूले अन्नबाली लगाउँदै आएका छन् । त्यही लगाएको अन्नबाली अहिले भित्र्याउने समय भएको छ ।

लिम्बू समुदायले लगाएको अन्नबाली पाकेपछि प्रकृतिलाई चढाएर मात्रै ग्रहण गर्ने प्रचलन छ । पुर्वको विभिन्न क्षेत्रमा पूजा र प्रतियोगिता सञ्चालन गर्दै लिम्बू समुदायले यो पर्व हर्षोल्लासका साथ मनाउँछन् ।

लिम्बू समुदायमा घर–घरमा नै ‘चासोक’ पर्व मनाउँदै आएको भए पनि पछिल्लो समय यी समुदायको सघन बस्ती रहेको स्थानहरूमा सामुहिक रूपमा मनाउन थालिएको स्थानीय अनिल आंखेवाले बताउनुहुुन्छ ।

‘चसोक’ पर्वका कारण लिम्बू समुदायको घर आँगनमा घन्किने मादलले यो समूदायको वस्ती गुञ्जयमान हुने गरेको छ । पर्वको अवसरमा लिम्बू समुदायको च्याब्रुङ नाच, धान नाच प्रदर्शन तथा छेलो हान्ने धनु काँड हान्ने लगायतका लोप हुँदै गएका खेलहरू समेत सञ्चालन हुने गरेको छ ।

कृषि युगसँगै चासोक पर्वको सुरुवात भएको छथर गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बू बताउनुहुन्छ ।

देशभित्र र बाहिर रहेका लिम्बूहरूले लोपोन्मूख चासोक तङनामलाई हर्ष र उस्लासका साथ मनाउन थालेका छन् । यी पर्वको संरक्षण गर्ने उद्धेश्यले स्थानीय सरकारलेसमेत स्थानीय बिदा दिन सुरु गरेको छ ।

अघिल्लो पुस्ताले यो पर्वलाई आफ्नो मौलिक विशिष्ट पर्वको रूपमा विकास गरे पनि पछिल्लो पुस्ताले भने यसलाई निरन्तरता दिन सकेको छैन ।

त्यसैले लोप हुँदै गएको मौलिक पर्वहरूको संरक्षणलाई स्थानीय सरकारले चासो दिनु आवश्यक छ । त्यसो गर्न सकेमा मात्र स्थानीय र मौलिक पर्वहरू सामुहिक पर्वको रूपमा विकास हुन्छन् ।