Logo १५ बैशाख २०८३, मंगलबार | Wed Apr 29 2026


खुलातर्फ कांग्रेस केन्द्रीय समितिमा १६ नयाँ अनुहार


299
Shares

काठमाडौं । नेपाली कांग्रेसको खुलातर्फका केन्द्रीय सदस्यमा सभापति शेरबहादुर देउवानिकट पक्षको बाहुल्य भएको छ।

कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत मंसिर २७ गते भएको मतदानको आइतबार सम्पन्न गणनाअनुसार देउवा समूहबाट उम्मेदवार बनेका २५ नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्। ३५ सदस्यीय खुला केन्द्रीय सदस्यमा देउवा इतर समूहका १० नेतामात्र स्थान सुरक्षित गर्न सफल भएका छन्।

कांग्रेस निर्वाचन समितिले साँझ दिएको अन्तिम मतपरिणामअनुसार खुलातर्फका ३५ केन्द्रीय सदस्यमा १६ जना नयाँ अनुहार छन्। नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलका वर्तमान र पूर्वअध्यक्षसहितका नेताहरु पार्टीको केन्द्रीय सदस्यमा पुगेका छन्। पुराना १९ नेता केन्द्रीय समितिमा दोहोरिएका छन्।

केन्द्रीय समितिमा दोहोरिएका नेतामध्ये निवर्तमान महामन्त्री शशांक कोइरालाले सर्वाधिक मत पाए। १४औं महाधिवेशनमै सभापतिको प्रत्यासी बन्ने बताउँदै आएका शशांक देउवा इतर समूहबाट एउटामात्र उम्मेदवार बन्नेरबनाउने प्रयास असफल भएपछि केन्द्रीय सदस्यमा मात्रै चुनाव लडेका थिए। उनले ३ हजार ८ सय ३६ मत प्राप्त गरेका छन्। उनको नाम देउवा र शेखर कोइराला दुवै समूहमा प्यानलमा समावेश थियो।

नागरिक