काठमाडौं । सिभिल सहकारी ठगीको मुख्य योजनाकार इच्छाराज तामाङकी श्रीमती सिर्जना शाक्य तामाङले सरकारी जागिर अवधिभर ३२ लाख रुपैयाँ मात्रै कमाइन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा पेस गरेको प्रतिवेदनमा उनको नाममा अर्बभन्दा धेरै सम्पत्ति रहेको खुलेको छ ।
सिआइबीका अनुसार सिर्जना नेपाल सरकारको ओभरसियर हुन् । उनले २१ भदौ ०४६ मा सरकारी सेवामा प्रवेश गरी १७ वैशाख ०७४ मा स्वेच्छिक अवकाश लिएकी थिइन् । विभिन्न सरकारी कार्यालयमा रहेर काम गरेकी उनले जागिरे अवधिभर ३२ लाख रुपैयाँ मात्रै कमाइ गरेकी थिइन् । तर, उनको नाममा अहिले अस्वाभाविक रूपमा सम्पत्ति फेला परेको ब्युरो प्रमुख डिआइजी धीरजप्रताप सिंहले बताए । सिंहका अनुसार सिर्जनाको सम्पत्ति सेयर, जग्गा र लक्जरी गाडी हुन् ।
सिआइबीको प्रतिवेदनअनुसार सिर्जनाको नाममा विभिन्न कम्पनीमा संस्थापक सेयर १७ करोड ७२ लाख ५४ हजार तीन सय रुपैयाँको छ । यसबाहेक विभिन्न कम्पनीमा तीन करोड २९ लाख २६ हजार रुपैयाँको साधारण सेयर उनको नाममा भेटिएको छ । सिभिल सहकारीमा उनको १२ करोड ५६ लाख ५१ हजार पाँच सय मूल्यबराबराको सेयर छ ।
सिभिल सहकारीमै इच्छाराज र उनको संयुक्त खातामा उनले २३ मे ०१९ देखि ३० जुन ०१९ सम्म १७ पटक गरी ११ करोड ३५ लाख रुपैयाँ जम्मा गरेकी थिइन् । सिभिल सहकारीमै रहेको उनको व्यक्तिगत खातामा उनले २९ पुस ०७६ मा २९ करोड ७१ लाख दुई सय ४१ रुपैयाँ जम्मा गरेकी थिइन् ।










प्रतिक्रिया दिनुहोस्