Logo ११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026


शिक्षा क्षेत्रको सुधारका लागि मन्त्रालय प्रतिवद्ध छ : शिक्षामन्त्री पौडेल


169
Shares

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक शिक्षा सुधारका लागि मन्त्रालय प्रतिवद्ध रहेको बताउनुभएको छ ।

शनिबार सार्वजनिक शैक्षिक गुठी विद्यालय संघको १२ औं वार्षिकोत्सव एवम् छैठौं महाधिवेशनमा बोल्दै मन्त्री पौडेलले यस्तो बताउनुभएको हो ।

‘सार्वजनिक शिक्षा सुधार्न एक्लो प्रयासले हुँदैन,’ मन्त्री पौडेलले भन्नुभयो, ‘शिक्षक, विद्यार्थी र तीनै तहका सरकार मिलेर शिक्षामा गुणस्तर बढाउनुपर्छ ।’

मन्त्री पौडेलले उच्च शिक्षा पढ्ने विद्यार्थीको संख्या नेपालमा कम हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै शिक्षण संस्थालाई व्यवस्थित गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले सरकरा संघीय शिक्षा ऐन जारी गर्ने प्रक्रियामा प्रवेश गरेको बताउँदै शिक्षा क्षेत्रमा देखा परेका समस्या हल गर्न सरकार लागिपरेको दाबी गर्नुभयो ।

‘शिक्षा क्षेत्रमा लामो समयदेखि गाँजिएका समस्याहरू छन्, यसको क्रमशः हल गर्ने बाटोमा सरकार लागेको छ,’ उहाँले भन्नुभयो, ‘संघीय शिक्षा ऐन जारी गर्ने प्रक्रियामा प्रवेश गरेका छौं ।’

शिक्षा ऐन जारी भएपछि शिक्षा क्षेत्रमा देखिएका समस्याहरू धेरै हल हुने मन्त्रीपौडेलकाे विश्वास छ । उहाँले सिकेको ज्ञानलाई सीपमा र सीपलाई व्यवहारिक ज्ञानमा उतार्नुपर्नेमा जोड दिनुभयो ।