
काठमाडौं । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी निवर्तमान उपकुलपति डा. संगीता भण्डारीले व्यापक अनियमितता गरेको भेटिएको छ । घरको खाना, खाजादेखि कुकुरको उपचार खर्चसमेत प्रतिष्ठानका नाममा बिल बनाउने गरेको भेटिएको हो । यस्ता केही बिल नयाँ पत्रिकालाई प्राप्त भएको छ ।
घरायसी ठूला खर्च प्रतिष्ठानबाटै उठाउने गरेकी भण्डारीले काठमाडौंस्थित घरमा पालेको कुकुरको उपचारमा लागेको चार सय रुपैयाँको बिल पनि पेस गरेकी छिन् । गत ३ जेठमा ललितपुरको जावलाखेलस्थित मोबाइल भेटेरिनरी कन्सल्टेन्सी सर्भिसबाट कुकुरका लागि लिएको सेवाको शुल्क निकासा गर्न माग गरेकी हुन् ।
भण्डारीले भने अन्य बिलमा कतै झुक्किएर कुकुरको उपचारको बिल परेको हुन सक्ने दाबी गरिन् । ‘मैले त्यस्तो बिल पेस गरेको छैन, कहिलेकाहीँ मिक्स भएर मेरो अफिसमा भेटिन सक्छ, त्यो छुट्टै कुरा हो,’ उनले भनिन् ।
भण्डारीले नयाँ पत्रिकासँग पहिलो संवादमा प्रतिक्रिया दिएको केही समयपछि आफैँले फोन गरेर ड्राइभरहरूले पेस गरेको बिल हुन सक्ने दाबी गरिन् । ‘ड्राइभरहरूले पेस्की लिन्छन्, पछि बिल पेस गर्छन् । मैले एकाउन्टमा सोध्दा एकपटक त्यस्तो बिल पेस भएको थियो भन्नुभयो । तर, त्यसको भुक्तानी भएको छैन । भुक्तानी भएको छ भने भन्नुस्, म आफैँ तिर्छु । जाबो दुई–तीन हजारको बिल पनि त्यसो गर्छ ।’ प्रतिष्ठानका अधिकारीले भने कुकुरको उपचारको बिल पेस मात्र नभई भुक्तानी नै लगिसकेको बताए ।
प्रतिक्रिया दिनुहोस्