Logo १५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026


सुत्केरीलाई गोठ


156
Shares

रुकुम पूर्व । सकेसम्म स्वास्थ्य संस्थामा नभए घरमै सुरक्षित सुत्केरी गराउने क्रम बढेको छ । तर, रुकुम पूर्वको एक गाउँमा सुत्केरीलाई अझै पनि गोठमा राख्ने चलन कायमै छ । सिस्ने गाउँपालिका–१ का बासिन्दा अहिले पनि सुत्केरीलाई बस्तुभाउ बाँध्ने गोठमा राख्छन् । व्यथा लागेदेखि सुत्केरी भएको दुई–तीन सातासम्म र कतिपयले ४५ दिनसम्मै सुत्केरीलाई छुन मान्दैनन् ।

गाउँपालिकाकी सहायक महिला विकास निरीक्षक सुनिता खड्काले श्रीमान् र सासू–ससुराको नछुने चलनले महिला समस्यामा परेको बताइन् । ‘सुत्केरी भएर रगताम्य भएकी महिला आफैं सालनाल गाडेर फर्किरहेको पनि देख्यौं,’ उनले भनिन्, ‘यसो किन गरेको भन्दा सुत्केरीलाई अरूले छोएपछि देवी–देवता रिसाउँछन् भन्ने जवाफ पाइयो ।’ हरेक वर्ष चेतनामूलक कार्यक्रम गरिरहे पनि व्यवहारमा यस्तो चलन हट्न नसकेको उनले बताइन् ।

अरूसित छुन नमिल्ने भएपछि महिलाहरू स्वास्थ्य चौकी जाँदैनन् । सुत्केरी हुँदाका बेला सबै काम आफैं गर्छन् । जसका कारण उनीहरुको स्वास्थ्य जोखिममा पर्नुका साथै कतिपयको ज्यानसमेत जाने गरेको छ । अहेब शर्मिला बुढा सुत्केरीलाई नछुने चलन बिस्तारै हट्दै गए पनि पूरै हटाउन समय लाग्ने बताउँछिन् । ‘गर्भ जाँच गर्न नआउने र घरमै सुत्केरी भएका महिलाका बच्चालाई खोप दिँदैनौं भनेपछि प्रसूतिगृहमा सुत्केरी हुन आउनेको संख्या केही बढ्न थालेको छ,’ उनले भनिन्, ‘कतिपयले त कुरो बुझ्दै बुझ्नुहुन्न ।’ उनीसँग एउटा नमिठो घटना पनि छ । बच्चा पाउनेबित्तिकै बेसरी काँपेकी महिलालाई कसैले सहयोग गर्न सकेनन् । ती महिलाकै आमाले पनि सुत्केरी छुनुहुन्न भनेपछि श्रीमान्ले समेत केही गर्न पाएनन् र उनको मृत्यु भयो ।

कान्तिपुर