काठमाडौं । सिरिन्जले पाँचवटा ठूला बाल्टिन भरिएका छन् । ब्लड ब्याग, ग्लोब्स, गज, कपालजस्ता कोभिड वार्डबाट संकलित फोहोर प्लास्टिकमा थन्क्याइएको छ । भाइलहरु बोरामा कोचिएका छन् । भने केमिकल जथाभावी राखिएको छ ।
यो दृश्य राष्ट्रिय ट्रमा सेन्टरको हो, जहाँ वीर अस्पताल कोभिडजन्य फोहोरमैला व्यवस्थापन गर्दै आइरहेको छ। वीरमा कोभिड संक्रमित फोहोर व्यवस्थापन गर्न आधुनिक ‘माइक्रोओधन’ जस्ता प्रविधि छैनन् । फोहोर निर्मलीकरण गर्ने दुइवटा ‘अटोक्लेभ’ मेसिनमध्ये एउटा तीन महिनादेखि थन्किएको छ । अर्को बेलाबेला बिग्रिइरहन्छ ।
अमेरिकी सहयोग नियोग (यूएसएड) ले दिएको नयाँ मेसिन पनि तीन महिनादेखि जडान गरिएको छैन । ट्रमा सेन्टरकै सिरिन्ज पनि दुइवटा ड्रममा भरिइसकेका छन् । यहाँको अटोक्लेभ सातायता बिग्रिएको छ । पाटन अस्पतालमा चारवटा अटोक्लेभ मेसिनमध्ये दुइवटा वषौंदेखि बिग्रिएका छन् । नयाँ खरिद गरेको दुईमध्ये एउटा दुई महिनादेखि मर्मत हुन सकेको छैन। कोभिड र ननकोभिड वार्डबाट संकलित फोहोर एकै ठाउँमा मिसाइएको छ ।
पाटन र टेकुको सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले सुईबाहेक ग्लोबस, भाइललगायत अनय कोभिडजन्य फोहोर बिक्रीमा पठाइरहेको छ । नयाँ बानेश्वरको सिभिल अस्पतालले कोरोनाविरुद्धको खोपको भाइल र सिरिन्ज माइक्रोओभनमार्फत व्यवस्थापन गर्छ । तर, कोभिड वार्डबाट निस्केको स्लाइन पाइप, गज, कपास, पानीका बोतल, औषधिका बट्टा भने केमिकल प्रयोगको भरमा सिधैं विक्रेतालाई पठाउने गरिएको छ।










प्रतिक्रिया दिनुहोस्