Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


ओलीको पूर्वमाओवादी मोहले खटपट


429
Shares

काठमाडौं । एमालेभित्र १०औं महाधिवेशनपछि पूर्वमाओवादीलाई महत्व दिइएको छ । पार्टी नेतृत्वले सुरुदेखि नै एमाले भई काम गर्दै आएकालाई भन्दा माओवादी छाडेर आएका नेताहरूलाई महत्वका साथ जिम्मेवारी दिएको छ ।

वरीयताक्रम,कार्यविभाजन र केन्द्रीय सदस्य मनोनयनमा पूर्वमाओवादीलाई महत्व र जिम्मेवारी दिन कुनै कन्जुस्याइँ गरिएको छैन । एमाले छाडेर माओवादीमा गएका र फेरि एमालेमै आएका नेताहरूलाई पनि पार्टी अध्यक्ष केपी शर्मा ओलीले महत्व दिएका छन् ।

अध्यक्ष ओलीले नवौं महाधिवेशनमा आफूलाई असहयोग गर्ने र दसौँ महाधिवेशनमा बखेडा निकाल्ने नेतालाई भन्दा चुपचाप बस्ने पूर्वमाओवादी नेतालाई पार्टी जिम्मेवारीमा उपल्लो स्थानमा राखेका छन् ।

ओलीले पार्टी उपाध्यक्षहरू विष्णु पौडेल,सुवास नेम्वाङ,सुरेन्द्र पाण्डेभन्दा माओवादीबाट आएका रामबहादुर थापालाई वरीयतामा माथि राखेका छन् । थापाले ओली प्रधानमन्त्री हुँदा उनको सरकारमा बसेर सहयोग गरेका थिए ।

२०७७ फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादी एकताबाट बनेको नेकपालाई भंग गरिदिएपछि एमालेमै बसेका थापालाई ओलीले सुरुमा वाग्मती प्रदेशको इन्चार्ज दिएका थिए । अहिले उनलाई एमालेका खारिएका नेतालाई भन्दा माथि राखेर जिम्मेवारी दिइएको छ। योगेश भट्टराई, गोकर्ण बिष्ट नवौं महाधिवेशनमै सचिव भएका थिए ।

नागरिक