Logo १३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026


देउवा–सिटौला पहिलो चरणमै आशावादी : कोइराला, सिंह र निधिको दोस्रो चरणमा लैजाने नीति


130
Shares

काठमाडौं । आगामी पाँच वर्षका लागि कांग्रेसको नेतृत्व छान्न देशभित्र र प्रवासबाट चुनिएका चार हजार सात सय ४३ प्रतिनिधिले सोमबार मतदान गर्दै छन् । बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मतदान गराउने तयारी छ । सभापतिमा शेरबहादुर देउवा, डा. शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धा गर्दै छन् ।

देउवा–कृष्ण सिटौला समूह पहिलो चरणबाटै विजयी हुनेमा आशावादी देखिन्छ भने छुट्टाछुट्टै समूह बनाएर निर्वाचनमा होमिएका कोइराला, सिंह र निधिले निर्वाचन दोस्रो चरणमा पुर्‍याउने रणनीति अख्तियार गरेका छन् । त्यसो हुँदा सबै एक ठाउँ उभिएर देउवामाथि दबाब बनाउन सकिने उनीहरूको बुझाइ छ । गुरुङ प्यानलविना सभापतिमा एक्लै भिडिरहेका छन् ।

सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री र सदस्यसहित एक सय ३४ पदका लागि भइरहेको निर्वाचनमा चार सय ८६ प्रतिस्पर्धामा छन् । दुई उपसभापतिका लागि सातजना, दुई महामन्त्रीका लािग ६ र आठ सहमहामन्त्रीका लागि १९ नेताले उम्मेदवारी दिएका छन् । त्यस्तै, एक सय २१ सदस्यका लागि चार सय ४९ जना चुनावी मैदानमा छन् । सभापतिमा उम्मेदवारी दिएका युवराज न्यौपाने र सहमहामन्त्रीमा मनोनयन गरेका सुरेन्द्रप्रसाद चौधरीले उम्मेदवारी फिर्ता लिएका छन् ।

कांग्रेस विधानअनुसार सभापतिका उम्मेदवारले जितका लागि ५० प्रतिशतभन्दा धेरै मत ल्याउनुपर्छ । कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याए सबैभन्दा बढी मत ल्याउने दुई उम्मेदवारबीच दोस्रो चरणको निर्वाचन हुन्छ । त्यसैले मतदानलगत्तै सुरुमा सभापतिको मतगणना गर्ने कार्यसूची निर्वाचन समितिले बनाएको छ ।

नयाँ पत्रिका