टन्सिललाई हेलचेक्र्याइँ नगरौँ « Image Khabar


टन्सिललाई हेलचेक्र्याइँ नगरौँ


13
Shares

काठमाडौं । जाडो मौसममा टन्सिल हुने सम्भावना धेरै हुने भएकाले चिसोबाट बच्न चिकित्सकहरू सुझाव दिन्छन् । वरिष्ठ नाक, कान, घाँटी रोग विशेषज्ञ डा. प्रकाश थापाले यस हप्ता आफूले टन्सिलका धेरै बिरामी हेरेको बताए ।

उनले धुलोमैलो, धुँवा, खानपानले घाँटीमा असर गर्ने र टन्सिल हुने सम्भावना रहने जानकारी दिँदै जाडो मौसममा चिसो तथा फ्रिजमा राखिएका खाद्य पदार्थ एवं पेय पदार्थ पिउँदा पनि घाँटी दुख्ने र टन्सिल हुने बताए । उनका अनुसार रुघाखोकी बढ्दै जाँदा पनि टन्सिलको जोखिम हुन्छ । कतिपयलाई टन्सिल निको पार्न एन्टिबायोटिक्सको प्रयोग गर्नुपर्ने हुन्छ ।

नाक, कान, घाँटी रोग विशेषज्ञ डा। दीपेन्द्र श्रेष्ठले टन्सिल सबैको समस्या हो भन्दै कसैलाई नियमित टन्सिल हुन सक्ने बताए । उनले ब्याक्टेरियाबाट हुने टन्सिलका कारण तत्कालीन र दीर्घकालीन जटिलता एकदमै खतरापूर्ण हुन सक्ने बताउँदै एकपटक टन्सिल भइसकेपछि निको हुने तर बारम्बार बल्झिरहन सक्ने हुँदा सतर्कता अपनाउनुपर्ने सुझाव दिए । सङ्क्रमण फैलिएर टन्सिल ग्रन्थी नजिकै ठूलो फोकामा पिप जम्न सक्ने र सङ्क्रमण फैलिएर घाँटीको भित्री तहसम्म पुग्ने सम्भावना रहन्छ । सङ्क्रमण रगतमा फैलिएर दीर्घकालीन रूपमै असर हुनेगरी मुटु, मिर्गौला, जोर्नी र दिमागमा समेत खतरा पुर्‍याउन सक्छ ।

गोरखापत्र