२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


आज विश्व मानव अधिकार दिवस मनाइँदै


0
Shares

काठमाडौं । आज डिसेम्बर १० अर्थात् विश्व मानव अधिकार दिवस । विश्व मानवअधिकार दिवसको अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाईदैछ ।

मानवीय मूल्य, मान्यता, मानव सभ्यता तथा मानव अधिकार संरक्षणप्रतिको प्रतिबद्धता लोकतान्त्रिक व्यवस्था, दिगो शान्ति र विकासको आधारस्तम्भ रहेको तथ्यलाई स्वीकार गर्दै संयुक्त राष्ट्र संघको महासभाले १० डिसेम्बर, १९४८ का दिन मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी गरेको थियो ।

सन् १९४८ मा संयूक्त राष्ट्रसंघको महासभाले मानव अधिकार घोषणपत्र पारित गरेको एतिहासिक दिवसको सम्झनास्वरुप हरेक डिसेम्बर १० का दिन यो दिवस मनाइन्छ ।

दिवसको उपलक्ष्यमा प्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्नु भएको छ ।

प्रधानमन्त्री देउवाले नेपालले संयुक्त राष्ट्र संघको सदस्य भए पश्चात मानव अधिकारको सम्मान, संरक्षण र प्रवर्द्धनको कार्यमा अन्तर्राष्ट्रिय मञ्चहरूमा प्रतिबद्धता जनाउँदै आएको उल्लेख गर्नुभयो । सोही प्रतिबद्धता अनुकूल हुने गरी नेपालको संविधानले विश्वव्यापी रूपमा स्वीकार गरिएका मानव अधिकार अन्तर्गतका प्रायः सबै अधिकारहरूलाई मौलिक हकको रूपमा स्वीकार गरी संवैधानिक प्रत्याभूति गरेको उहाँले बताउनु भयो ।

कोभिड–१९ महामारीले सिर्जना गरेको चुनौतीपूर्ण परिस्थितिमा पनि सरकारले आफ्ना नागरिकको मानव अधिकारको संरक्षणमा दत्त चित्त भएर विभिन्न प्रयास गरिरहेको उहाँले उल्लेख गर्नुभएको छ । यसै वर्षको अन्त्यसम्ममा सबै नेपाली नागरिकलाई निःशुल्क खोप लगाइसक्ने गरी कार्य भइरहेको उहाँले स्पष्ट पार्नुभयो ।