Logo १३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026


९ महिनादेखि नतिजा कुर्दै १६ हजार विद्यार्थी


0
Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालय नियमावलीअनुसार परीक्षा सकिएको तीन महिनाभित्र नतिजा प्रकाशन गर्नुपर्छ तर २०७७ फागुनमा सम्पन्न परीक्षाको नतिजा ९ महिना बित्दा पनि आएको छैन । परीक्षा नियन्त्रण कार्यालयले मानविकी संकायतर्फ स्नातकोत्तर तह जनप्रशासन र राजनीतिशास्त्र तथा व्यवस्थापनतर्फ एमबीएस परीक्षाको नतिजा प्रकाशनमा ढिलाइ गर्दा १६ हजारभन्दा बढी विद्यार्थी प्रभावित भएका छन् ।

एमबीएसका ५ हजार ६ सय, एमपीएका ३ हजार ५ सय र राजनीतिशास्त्रका ७ हजारभन्दा बढी विद्यार्थी नतिजा कुरेर बसेका छन् । एमए राजनीतिशास्त्रको परीक्षा दिएर बसेका नेपाली सेनाका हुद्दा दर्जाका एक सैनिकले त्रिविको ढिलाइले आफ्नो पदोन्नतिमा असर परेको गुनासो गरे । ‘पढाइ भनेको करियरसँग जोड्नका निम्ति हो,’ उनले भने, ‘तर त्रिविले बेलैमा रिजल्ट ननिकाल्दा यसपालि अवसर गुम्यो । कम्तीमा पाँच महिनाभित्र रिजल्ट आएको भए बढुवाका निम्ति अंक थपिने थियो ।’ उनले वार्षिक प्रणालीअन्तर्गत एमए पढेर परीक्षा दिँदै आएको तर सेवाकालीन अवसरमा हैटी गएपछि दोस्रो वर्षको परीक्षा ढिलो गरी पूरा गरेको बताए ।

राजनीतिमा सक्रिय रहेकी स्याङ्जाकी दिलिपाश्री अधिकारी पनि राजनीतिशास्त्र विषयको नतिजा पर्खेर बसेकी छन् । अंग्रेजीमा स्नातकोत्तर गरिसकेकी उनले भनिन्, ‘मास्टर्स डिग्री भनेको सामाजिक हैसियत निर्माण गर्ने आधार पनि हो । यसअघि अंग्रेजीमा एमए गरिसकेकाले सर्टिफिकेट देखाउनैपर्ने समस्या छैन तर जसले राजनीतिशास्त्रलाई पहिलो डिग्रीका रूपमा लिएका छन्, उनीहरूका निम्ति नतिजा प्रकाशन ढिलो हुँदा बाधा पुगेको हुन सक्छ ।’

कान्तिपुर