काठमाडौं । पटक–पटक कार्यतालिका हेरफेर हुँदै आए पनि अन्ततः शुक्रबारदेखि कांग्रेसको १४औँ महाधिवेशन सुरु हुँदै छ । ‘उत्साह, एकता, रूपान्तरण स् सफल बनाऔँ १४औँ महाधिवेशन’ भन्ने मूल नाराका साथ दिउँसो १ बजे भृकुटीमण्डपमा महाधिवेशन उद्घाटन हुँदै छ । १३औँ महाधिवेशन पनि ०७२ फागुनमा भृकुटीमण्डपमै भएको थियो ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले महाधिवेशनको सम्पूर्ण तयारी सकिएकाले उद्घाटन समारोहलाई चुस्त र व्यवस्थित रूपमा सम्पन्न गर्ने बताए । उद्घाटन समारोह दुई घन्टाभित्रै सक्ने तयारी छ । शर्माका अनुसार उद्घाटनमा देशका प्रमुख पार्टीका नेता, विदेशी प्रतिनिधि र कांग्रेसका शीर्ष नेताले सम्बोधन गर्नेछन् ।
उद्घाटनका लागि भृकुटीमण्डपको प्रांगणमा एक सय ५० जनाभन्दा बढी क्षमताको मुख्य मञ्च तयार गरिएको छ । उद्घाटनमा नेपालका सबै मुख्य राजनीतिक दलका प्रमुखका साथै विदेशबाट भारतको भारतीय जनता पार्टी र कंग्रेस आईका प्रतिनिधिसमेत उपस्थिति हुने भएका छन् ।
महाधिवेशनमा सहभागी कुल चार हजार सात सय महाधिवेशन प्रतिनिधिमध्ये अधिकांश काठमाडौं आइसकेका छन् । उनीहरूका लागि आवश्यक महाधिवेशनसम्बन्धी विवरणसहितको झोला बिहीबारदेखि नै पार्टी केन्द्रीय कार्यालय सानेपाबाट वितरण सुरु गरिएको छ ।
कोभिड– १९ महामारीका कारण काठमाडौं उपत्यकाबाहिरबाट सहभागी बोलाइएको छैन । पार्टीका महाधिवेशन प्रतिनिधि र स्वःस्फुर्त रूपमा आउने सहभागी मात्र उद्घाटनमा रहनेछन् । सहभागीलाई हेर्न सजिलोका लागि मञ्चबाहिर ठूला पाँच डिस्प्ले राखिएको छ । महाधिवेशनस्थल पार्टीका झन्डा र चुनाव चिह्न रूखअंकित झन्डाले सिँगारिएको छ । वरपर विभिन्न स्थानमा स्वागत द्वार राखिएको छ ।
महाधिवेशन प्रतिनिधिका लागि खाना र नास्ताको व्यवस्था भृकुटीमण्डपको बगैँचामा हुनेछ । वासका लागि सुन्धाराका विभिन्न होटेलमा व्यवस्था गरिएको छ । बन्दसत्र हुने भृकुटीमण्डपको हलमा पनि ठूलो मञ्च तयार गरिएको छ । हलभित्र पनि सातवटा डिस्प्ले राखिएको छ ।









प्रतिक्रिया दिनुहोस्