१८ बैशाख २०८२, बिहिबार | Fri May 2 2025


अफगानिस्तानका किशोरीको आँसु देखेन बन्दुकले


0
Shares

एजेन्सी । तालिवानले सत्ता कब्जामा लिएपछि विश्व समुदायकै कठघरामा रहेको अफगानिस्तानमा यतिबेला किशोरीहरुको अवस्था कहालीलाग्दो बनेको छ । सरकारले शिक्षामा बन्देज लगाएसँगै उनीहरु आफ्नो भविष्यप्रति चिन्तित मात्र छैनन्, यो क्षण मृत्युदण्डभन्दा बढी पीडादायी भएको बताउँछन् ।

राजनीतिक दाउपेचका कारण अफगानिस्तानमा बालबालिका र किशोरकिशोरीको अवस्था अत्यन्तै नाजुक छ । जुनवर्गलाई राजनीतिको रसमेत ज्ञान छैन, उनीहरु त्यसैको छायाँबाट त्रस्त छन् । सरकारले आफ्नो भविष्य अन्धकारमा घचेटेको भन्दै आक्रोश पोख्छन्, घुर्की लगाउँछन, रुन्छन्, कराउँछन् । तर त्यो याचनाको सुनुवाई कतै हुँदैन ।

बन्दुकका अगाडि आँखाको आँसु मात्र पानी बनेको छ । उनीहरुको माग पढ्न पाउँ भन्ने मात्रै हो । प्राथमिक शिक्षाका बालबालिकालाई मात्र पढ्ने सुविधा दिइँदा टिनएज पुस्ता यतिबेला घरमा थुनिएको छ । मानसिक रुपमा पनि उनीहरु अशान्त छन् ।

१५ वर्षीया मीनाको अनुभवमा पढाईबाट बञ्चित हुनु भनेको मृत्युदण्डभन्दा बढी मर्मस्पर्सी क्षण हो । घरमा बन्धक बनाएर आफूहरुलाई मृत्युको बाटोमा धकेलिएको बुझाई मीनाको छ । अर्की किशोरी लैला सहपाठीसँग भेटघाट गरी दुःखसुख साटासाट गर्न नपाउँदा मानसिक तनावमा गुज्रिनु परेको बाध्यता सुनाउँछिन ।

सत्तामा तालिवानको प्रवेशसँगै किशोरीहरुलाई स्कुल जाने अधिकारबाट बञ्चित गरिएको छ । बीबीसीको सर्वेक्षण क्रममा घरमै थन्किनु परेको पीडाले लाखौं किशोरी बेचैन अवस्थामा छन् । राजनीतिक चेपुवामा परेर पढ्ने स्वतन्त्रता खोसेकोमा तालिवान सरकारप्रति आक्रोशित छन् ।

तालिवान नेतृत्वले नआतिन आग्रह गरेपनि महिनौं वितिसक्दा समेत कुनै सकारात्मक लक्षण देखापरेको छैन । विद्यालयका प्राचार्यहरुले देशको भविष्य बोकेको पुस्ता घरमा सीमित हुँदा अपुरणीय क्षति पुगेको भन्दै चिन्ता व्यक्त गरेका छन् । तालिवानले सत्ता कब्जा गरेपछि भागदौडकै क्रममा सयौं बालबालिका अभिभावकविहीन बनेका छन् भने उतिकै संख्यामा अनाथ बनेका छन् ।

अन्तर्राष्ट्रिय मञ्चमा सुशासन र मानवअधिकारको प्रतिवद्धता जनाउने तालिवानले नागरिक स्वतन्त्रतामा संवेदनशील हुनु जरुरी छ ।