समयको पदचाप सुन्ने क्षमता कसरी वृद्धि गर्ने ? « Image Khabar


समयको पदचाप सुन्ने क्षमता कसरी वृद्धि गर्ने ?


39
Shares

हरिविनोद अधिकारी
समयले केही कुराको संकेत गरिरहेको हुन्छ र समयको पदचापलाई जसले पछ्याउन सक्छ, उसैले समयको मौन बोलीलाई बुझेको मानिन्छ । दलहरुका महाधिवेशनले समयको बोली मतपत्रमार्फत् बोलिरहेका छन् र ती दलहरुका मनस्थिति पनि महाधिवेशनका मतपत्रले छर्लंग देखाइरहेका छन् ।

राप्रपामा मतपत्रको मौन भाषा सुनियो । ३० वर्षसम्म पार्टी हुन नसकेको राप्रपामा पनि मतपत्रको प्रयोग गर्ने वातावरण बन्यो । आन्तरिक प्रजातन्त्रको मौनभाषाले काम गरेको देखियो । मतपत्रको अर्थ मतको स्वतन्त्रतापूर्वक , निर्भयताका साथ प्रयोग गर्न पाउनु हो है । मतको प्रयोग गर्न पाउनु भनेको अभिव्यक्ति स्वतन्त्रता हो र अभिव्यक्ति स्वतन्त्रता कतै बन्धकी राखेर व्यक्ति वा समूह स्वतन्त्र हुन सक्दैन र कसैले आफ्नो पन्जामा जकडेर राखेको स्वतन्त्रतालाई आफ्नो व्यक्तिगत स्वतन्त्रताको विम्ब मान्न सकिँदैन ।

जब जनताका प्रतिनिधिहरु जागरुक हुन्छन्, त्यहाँ समय बोल्न थाल्छ उनीहरुका बोलीमा, मतमा र क्रियाकलापमा । राजेन्द्र लिङ्देन एउटा मौनताको परिवर्तनका लागि विम्ब बनेको मात्र हुन्, आखिर उनी पनि कमल थापाकै पदचिन्हमा हिँडेर यहाँसम्म आएका हुन् । मात्र बाटामा उनले मौन भाषामा विद्रोह गरे , मात्र कमल थापाका विरुद्धमा उठ्ने हिम्मत गरे राप्रपाको अध्यक्ष पदमा । कुरो ठुलो होइन तर कमल थापालाई हैकमबादको छहारीमा अरुलाई नचाउँदै आएका र गणतन्त्र विरोधी हुँ भन्दै गणतन्त्रका पक्षमा गठित सरकारको प्रवक्ता भएर विश्वभर घुमेका अवसरबादी पात्रका विरुद्ध शिर उठाउन सक्षम भएकाले नयाँ रेकर्ड भएको मात्र हो । राप्रपासँग जो जो सहमत छैनन् , उनीहरुका लागि राजेन्द्र पनि उही पात्र हुन् , जसलाई मौनताले फेरि आक्रमण गर्नेछ र राप्रपाकै औचित्यमाथि प्रश्नचिन्ह लगाउने छ ।

फरक के मात्र हो कमल थापाले त्यसलाई निजी कम्पनीका रुपमा प्रयोग गरेका थिए भने राजेन्द्रले त्यसो गर्न सक्ने छैनन् । किनभने उनले दललाई प्राइभेट कम्पनीमा परिणत गर्न सक्दैनन् , उनको पदावधि मतका आधार बढीमा पाँच वर्ष ६ महिना मात्र ।बरु यत्ति हो कि विवेकको प्रयोग हुन पाउनु पर्छ जसका लागि मतपत्रको चाहिँ प्रयोग हुन पाउनु पर्छ र मतपत्र प्रयोग गर्नका लागि स्वतन्त्र वातावरण हुनुपर्छ । सायद त्यसैलाई निष्पक्ष निर्वाचन, भयरहित निर्वाचन भनिएको हो । यो आम निर्वाचन होस् या स्थानीय निर्वाचन होस् या दलीय आन्तरिक निर्वाचन होस् ।

निर्वाचनले सहमतिलाई पनि जनाउँछ तर त्यस्तो सहमति विधानतः हुनुपर्छ जसलाई निर्विरोध निर्वाचनको नाम दिन्छौँ । जस्तो कि नेकपा एमालेमा मतपत्रले मौनरुपमा खासै केही बोल्न सकेन किनभने मतपत्रलाई बोल्ने वातावरण नै दिइएन । सुरुमै मतपत्रलाई निषेध गर्नेगरी वातावरण तयार गरियो । एमाले नेतृ सांसद विन्दा पाण्डेका धारणा पैँचो लिएर भनौँ, पहिले नै अध्यक्षले नामावली तयार गरेर दबाबपूर्ण तरिकाले नाम र पद तोक्नुभन्दा निर्वाचनका लागि स्वतन्त्र वातावरण तयार गरेर मनोनयन पत्र दाखिला गरेकाहरुमध्येबाट सहमतिमा जान दिएको भए पनि धेरै पदमा निर्विरोध पनि हुनसक्थ्यो । जो निर्वाचनमा प्रतिस्पर्धा गर्थे , तिनका बारेमा सहभागी प्रतिनिधिहरुले छान्थे स्वतन्त्रतापूर्वक । या त सहजीकरण गरेर छान्थे या मतपत्रको प्रयोगले छान्थे, आफ्नो अभिव्यक्ति स्वतन्त्रताको पूरा प्रयोग गरेर छान्थे ।

चाहे निर्वाचनको नाटक गरेर या निर्वाचनको पर्व मनाएर होस्, आउने परिणामले दिने सन्देश, त्यो पनि मौनताका साथ प्राप्त जानकारी हो । भन्नचाहिँ नभनिएको तर स्पष्टरुपमा बुझिएको । खुलारुपमा दबाब दिएर जुन सन्देश एमालेका सर्बशक्तिमान अध्यक्ष केपी शर्मा ओलीले समयलाई दिनुभएको छ, त्यो पनि त्यो दलमा देखिएको दल विभाजनको ह्याङ्ओभरको द्योतक थियो । त्यसलाई के पनि मान्नुपर्छ भने समयको पदचापलाई यति धेरै ठम्याइएको रहेछ कि भर्खरै दलमा आएको भयानक सुनामीलाई रोक्ने प्रयास थियो र देखाउनचाहिँ हामीमा त्यसले कुनै प्रभाव पारेको छैन भन्ने देखाउन खोजियो । फोटो खिच्ने बेलामा पनि दिक्क भएर बसेको मानिसलाई हाँस्नुस् हाँस्नुस् भनेर फोटो खिचेको जस्तो हो ।

सायद समयको पदचाप बुझेको भए न त प्रतिनिधि सभा दुई दुई पटक विघटन गरिन्थ्यो , त संघीय संसदमा अर्को दल नेकपा एकीकृत समाजवादीको जन्म हुन्थ्यो र न विभिन्न प्रदेशमा समाजवादीहरुले सत्तामा कब्जा जमाउन सक्थे अरुको सहयोगमा । यो नांगो यथार्थ हो तर हुटिट्याउँले बालुवामा टाउको गाडेर आकाशतिर खुट्टा ठड्याएर आकाशलाई खस्नबाट रोेकेको रे बालुवामा यत्रतत्र छरिएर रहेका आफ्ना फुलहरु जोगाउन । सायद फुलहरु जोगाउनका लागि केही नभएजस्तो गरी समयलाई मैले आफ्नो कब्जामा राखेको छु जस्तो गरिएको होला एमाले सुप्रिमो ओलीजीबाट । त्यहीँ सूत्र तर राप्रपामा प्रयुक्त हुन सकेनछ । त्यही हो मतपत्रको भाषा भनेको सायद । निर्भयताका साथ मत पत्र बोलेको अवस्था ।

नेपाली कांग्रेसमा अलि भिन्न परिस्थिति देखिन्छ । आन्तरिक प्रजातन्त्रको अभ्यासमा कमी मात्र भएको हो तर मतको भाषा बोल्नका लागि त्यहाँ बन्देज गरिएको पाइँदैन । तर अजबको चाला देखिन्छ प्रजातन्त्र र समाजवादको अन्तर्घुलनको अवस्था । स्वतन्त्रता अराजकता सम्म पुग्ने गरी छ तर अभ्यासमा त्यसलाई समेटिएको छैन निरन्तर अभ्यासका लागि । प्रजातन्त्र भनेको निरन्तरताको सजगता हो । त्यहाँ सिद्धान्त छ , अभ्यास छैन । त्यहाँ निष्ठा छ , आस्था छ , त्याग छ तर निष्ठा, आस्था र त्यागका भरमा बनेको संस्थामा अहिले त्यहीँ खडेरी लागेको छ । व्यापारीहरुको , प्रजातन्त्रप्रति निष्ठा नभएकाहरुको लामो लाइन उभिएको छ नेतृत्वमा आफूलाई उभ्याउन ।

पक्कै पनि निष्ठारहित,सिद्धान्तरहित र त्यागरहित जमातको भिडमा बीपी कोइरालाको सिद्धान्त एक्लो वृहस्पति झुठा हुन गएको छ , स्वयं बीपीले २०३६ साल जेठ २५ गते बृहद् आमसभामा भन्नुभएको थियो, म एक्लो वृहस्पति झुठा भएको छु । अर्थात् बीपीको दलले चाहन्थ्यो निष्ठा , आस्था र त्यागको सिद्धान्तले ओतप्रोत भएको एउटा सखल्ल पार्टीको सुशासन कायम होस् जहाँ सैद्धान्तिक आदर्शले मात्र शासन गर्न पाओस् ।

अहिले पनि नेपालमा दलका रुपमा सिद्धान्तप्रतिको अनवरत अभ्यास र प्रतिबद्धतामा जमेको दल भनेको नेपाली कांग्रेसमात्र हो , त्यसैले आम जनताले भरोसाका साथ त्यही दललाई हेर्छन् तर त्यहाँ पनि अराजकता, सिद्धान्तप्रति विमोह र अवसरवादीहरुको जमातले नागफणी मारेर बसेको देख्दा घृणा लाग्ने नै भयो तर पनि अरु दलहरुको आदर्श र प्रतिस्पर्धाको आधारभूमि भनेको नेपाली कांग्रेस नै हो ।

त्यहाँ प्रजातन्त्रका लागि मतद्वारा अभिव्यक्ति स्वतन्त्रताको प्रशस्त प्रयोग हुन्छ तर आदर्शलाई तिलाञ्जलि दिएको अभ्यासले खासै आकर्षण गर्न सक्दैन । तै पनि प्रजातन्त्रप्रतिका आदर्शको भित्री गाँठी बाँकी छ र अहिले पनि प्रजातन्त्र खतरामा छ भनेपछि जेल जान, कठोर त्याग गर्न लालायित बौद्धिक जमात छँदैछ । सायद बीपीको आत्मा त्यहाँ कतै आदर्शको नाममा बाँचेको छ ।

माओवादीको त्याग र विषय प्रवेशमा आफ्नो ढिपी थियो जसले गर्दा आजको नेपाली राजनीतिमा समावेशी र संघीयताले प्रवेश पाएको हो तर साँच्चै भनुँ भने उनीहरुले त्यसको अभ्यास गरेकै थिएनन् प्रजातान्त्रिक तरिकाले । उनीहरुलाई प्रजातन्त्र भन्ने शब्दसँगै शत्रुता थियो र दलीय केन्द्रीयतालाई नै प्रजातन्त्र, जनतन्त्र , जनवादको केके विशेषता तयार गरेर केन्द्रीयतालाई थोपरेका थिए ।

अहिले उनीहरुलाई पनि प्रजातन्त्रवादी हुने रहर लागेको छ र यता केही वर्षदेखि उनीहरुको प्रजातन्त्रप्रतिको आस्था र विश्वासमा बढोत्तरी भएको पाइन्छ तर कुइराका काग भएका छन् प्रजातान्त्रिक आदर्शका कुरामा । बल्ल दलको रुपमा विकसित हुन थालेका थिए माओबादीहरु, त्यही बेलामा झेली नीतिका फेला परे प्रजातन्त्रबादी हुने लहैलहैमा एमालेको ओली समूहको । न एकीकृत नेकपा रह्यो, न आफ्ना दलका नेताहरु रहे, न त दुःखले गरेको माओबादी एकीकरणको परिणाम बाँकी रह्यो ।

तर पनि सम्हालिएर प्रजातान्त्रिक दलको अभ्यास गरिरहेका छन् नेता प्रचण्ड र उनका समर्थनमा रहेका बाँकी नेताहरु । कार्यकर्तामा जोस देखिन्छ । तर प्रजातन्त्रका लागि उनीहरु नयाँ नै छन् । झन समयको पदचाप यस्तो आयो कि प्रजातन्त्रवादी हुने होड चल्यो संसारमा ।

तर समयको पदचाप सुन्ने घ्राण शक्तिको जरुरत छ दलहरुमा । ढिपीले मात्र हुँदैन । समयको पदचाप सुन्ने भनेको अवसरवाद होइन । अवसरको सदुपयोग गर्ने हो राजनीतिक भाषामा । सिद्धान्तविहीन जमातको भिड होइन, सिद्धान्त र आदर्शको अन्तर्घुलनबाट तयार भएको दीक्षित जमातले मात्र समयको विश्लेषण गर्नेछ र समयको पदचापलाई कार्यमा परिणत गर्नेछ ।

समयको पदचापको पछिल्लो कडीमा उदाहरणको रुपमा राजेन्द्र लिङ्देन देखिएका छन् र अरु दलहरुमा पनि त्यस्तै हिम्मत गर्नेहरुको घ्राणले मात्र समयको पदचापलाई सुघ्नेछ र अनुपम सुन्दर देश नेपालको भविष्यलाई अझ सुन्दर बनाउन सक्नेछन् भन्ने अपेक्षा गरौँ ।