
एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भारत भ्रमणमा छन् । भारत र रुसबीच हुने शिखर वार्ताका लागि भारतमै रहेका पुटिनले आजै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग वार्ता गर्दैछन् ।
सन् २०१९ को नोभेम्बरमा ब्राजिलमा भएको ब्रिक्स सम्मेलनको साइडलाइन वार्तापछि दुई नेताबीच पहिलो पटक आम्नेसाम्ने भेटवार्ता हुन लागेको हो । रुसी विदेशमन्त्री सर्गेई लाभारोभ र रक्षामन्त्री सर्गेइ सोयु समेत राष्ट्रपति पुटिनको भ्रमण दलमा रहेका छन् ।
दुई देशबीच हुने शिखर वार्तामा रक्षा, प्रविधि, कोभिड र अफगानिस्तानलगायतका विषयमा छलफल हुने बताइएको छ । भ्रमणका क्रममा दुई देशबीच ५० अर्ब भारु बराबरको हतियार खरिदको सम्झौता हुने बताइएको छ । भारतको अमेठीस्थित इण्डो–रुसी संयुक्त लगानीको कार्खानाबाट एके टु जीरो थ्री कलास्नोभिक राइफाल ५ लाख थान उत्पादनको सम्झौता हुने बताइएको छ ।
यस्तै भारतीय सेनाका लागि २ सय वटा ट्वीन ईञ्जिन कमोभ टुटुसीक्स टी लाइट हेलिकप्टर उत्पादनको सम्झौता पनि हुने बताइएको छ । पछिल्लो समय भारत र अमेरिकाबीच बढ्दो मित्रता र अमेरिकाले भारतलाई आफ्नो एशियाली गठबन्धनमा राख्ने प्रयास गरिरहेको बेला रुस र भारत जस्ता पुराना रणनीतिक साझेदार शक्तिहरुबीचको उच्च स्तरीय भेटघाटलाई महत्वका साथ हेर्ने गरिन्छ ।
पश्चिमा देशहरु भारतलाई चीन र रुसी सम्बन्धबाट तान्न प्रयासरत् रहेको आशंकामा रुस रहेको छ । अमेरिकी नेतृत्वको इण्डो प्यासिफक रणनीति र क्वाड जस्ता अभियानमा भारत सहभागी हुनुले रुसलाई चिन्तित बनाएको छ । सोही कारण कोरोना भाइरसको नयाँ भेरियन्टको संक्रमण्काबीच पनि रुसी राष्ट्रपति पुटिन भारत भ्रमणका लागि आएको विश्लेषण पनि गरिएको छ । रुसी राष्ट्रपति आजै राती स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया दिनुहोस्