काठमाडौं । ३१ वर्षअघि स्थापना भएको राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० को नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण भएको छ। ५६ वर्षीय राजेन्द्र लिङदेन राप्रपा अध्यक्षमा निर्वाचित भएसँगै पुस्ता हस्तान्तरण भएको हो।
एकता महाधिवेशनका क्रममा नयाँ नेतृत्व चयनका लागि भएको मतदानको नतिजा आइतबार बिहान सार्वजनिक भएको हो। निर्वाचन परिणामअनुसार लिङदेन १ हजार ८ सय १७ मत पाएर विजयी भएका हुन्। उनका प्रतिस्पर्धी कमल थापाले १ हजार ६ सय १७ मत पाए।
निर्वाचनबाट पार्टी नेतृत्व नयाँ पुस्तामा पुगे पनि थापाले यसलाई सहजै स्वीकार गर्न सकेको देखिएन। परिणाम सार्वजनिक हुनेबित्तिकै उनले पूर्वराजा ज्ञानेन्द्र शाहले आफूलाई हराएको भन्दै आक्रोश पोखे।
निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथग्रहण कार्यक्रममा समेत उनी सहभागी भएनन्। शपथग्रहण कार्यक्रममा उनलाई प्राथमिकतासाथ बोलाइएको थियो।
लिङदेनको विजयप्रति टिप्पणी गर्दै उनको प्यानलबाट महामन्त्री पदमा विजयी भएका धवलशमसेर राणाले भने, ‘राप्रपाका कार्यकर्ताले नयाँ पार्टी बनाउन चाहेको देखियो। निर्वाचन परिणामबाट यही बुझ्नुपर्छ। अब पार्टी नयाँ ढंगले अघि बढ्छ, देश पनि नयाँ तरिकाले अघि बढ्छ।’ चुनावी परिणामले कार्यकर्ता नेतृत्व परिवर्तनका पक्षमा रहेको पुष्टि भएको उनले बताए।
लिङदेन २०४६ सालको राजनीतिक आन्दोलनपछि राजनीतिमा सक्रिय भएका हुन्। उनी स्थापनाकालदेखि नै राप्रपामा आबद्ध भए। २०४८ सालमा गठन भएको राप्रपा विद्यार्थी संगठनको उनी पहिलो अध्यक्ष हुन्। २०२२ सालमा पाँचथरको अमरपुरमा जन्मिएका लिङदेन सम्पन्न परिवारका होइनन्। उनी पाँचथरबाट झापा बसाइँ सरे। उनले झापाबाटै राजनीति सुरु गरे।









प्रतिक्रिया दिनुहोस्