Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


राप्रपा दुवै पक्षबाट टिम घोषणा


0
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका कमल थापा र राजेन्द्र लिङदेनले निर्वाचनबाट छानिने पदाधिकारीका लागि बिहीबार आआफ्नो टिम घोषणा गरेका छन्।

महाधिवेशनको दोस्रो दिन दुवै पक्षले पदाधिकारीको टिम घोषणा गरेका हुन्। राप्रपा नेता भुवन पाठकका अनुसार शुक्रबार बिहान उम्मेदवारी मनोनयन गर्ने कार्यक्रम छ। उम्मेदवारी मनोनयन कार्यक्रम सकिएलगत्तै मतदान सुरु हुनेछ। उनका अनुसार मतदानमा विद्युतीय मेसिन प्रयोग गरिनेछ।

थापाको टिममा उपाध्यक्षमा बुद्धिमान तामाङ, धु्रवहादुर प्रधान र महिलातर्फ रोशन कार्कीको नाम राखिएको छ। यसैगरी लिङदेन पक्षबाट उपाध्यक्षमा दिलविकास राजभण्डारी, रामचन्द्र राय र महिलातर्फ लिला श्रेष्ठलाई राखिएको छ। विक्रम पाण्डेलाई दुवै पक्षले उपाध्यक्षमा राखेका छन्।

थापा पक्षका नेता तामाङले आफ्नो टिमबाट उपाध्यक्षमा पाण्डेलाई राखिएको जानकारी दिँदै भने, ‘सतप्रतिशत उहाँ हाम्रो टिमको हो। उहाँको नाम राखेर हामीले पोस्टरसमेत छापिसक्यौं।’ लिङदेन पक्षका नेता धवलशमसेर राणाले पनि पाण्डे आफ्नो टिमबाट उपाध्यक्षको उम्मेदवार भएको दाबी गरे।

‘कसले के भन्छन्, त्यो बेग्लै कुरा हो तर उहाँ हाम्रोतर्फबाट उपाध्यक्षको उम्मेदवार हो’, उनले भने। यसबारे सम्पर्क गर्न खोज्दा पाण्डे सम्पर्कमा आएनन्। उनले आफू बैठकमा व्यस्त भएको जानकारी पठाए।

नागरिक