
सर्लाही, माघ ८ । सरकारसँग गरेको प्रतिबद्धताअनुसार चिनी उद्योगले भुक्तानी नगरेपछि सर्लाहीका उखु किसानले पुनः आन्दोलनको घोषणा गरेका छन् ।
उखु किसान संघर्ष समितिले बुधबार सदरमुकाम मलंगवामा पत्रकार सम्मेलन गरी उखुको बाँकी बक्यौता रकम लिन आन्दोलन गर्ने घोषणा गरेको हो ।
बिहीबारसम्म पूर्ण भुक्तानी नपाए जिल्लाका उखु किसान चरणबद्ध आन्दोलनमा उत्रिने भएका हुन् ।
आन्दोलनको कार्यक्रमअनुसार किसानले कालोपट्टी बाँधेर खेतमा काम गर्नेदेखि काठमाडौंकेन्द्रित आन्दोलनको स्वरुप तय गरेका छन् ।
पत्रकार सम्मेलनमा उखु किसान संघर्ष समिति सर्लाहीका अध्यक्ष रामस्वार्थ रायले सरकारसँग प्रतिबद्धता जनाएर पनि उद्योगीले पैसा नदिँदा किसान निराश भइ आन्दोलमा होमिनुपर्ने अवस्था आएको बताए ।
उनले उखु किसानलाई पुनः काठमाडौं गएर आन्दोलन गर्नुपर्ने अवस्था आउन नदिन सरकारसँग आग्रहसमेत गरे ।
सर्लाहीका तीन चिनी उद्योगमध्ये अन्नपूर्ण चिनी उद्योग धनकौल र महालक्ष्मी चिनी उद्योग बगदहले अघिल्ला वर्षहरुमा बिक्री गरेको उखुको पैसा नदिएपछि किसानहरु पटक–पटक आन्दोलन गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्