कांग्रेस महाधिवेशनमा पदका लागि रस्साकस्सी, वैचारिक बहस चलाउनेहरू ओझेलमा « Image Khabar


कांग्रेस महाधिवेशनमा पदका लागि रस्साकस्सी, वैचारिक बहस चलाउनेहरू ओझेलमा


0
Shares

अक्कल कुँवर
काठमाडौं । नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशन आउन केही दिनमात्र बाँकी रहँदा उम्मेद्वारी घोषणा र प्यानल निर्माणको प्रतिस्पर्धा चलिरहेको छ ।

केन्द्रीय महाधिवेशन प्रतिनिधि छनोट अन्तिम चरणमा पुगेको छ । स्थानीय तहमा युवापुस्ताको हस्तक्षेप बाक्लिएकै छ । तर, एक्काइसौं शताब्दीको कांग्रेसले वैचारिक दृष्टिले नयाँपुस्तालाई कसरी तान्ने भन्ने विषयमा नेतृत्व मौन छ ।

२०७४ सालमा सम्पन्न तीनै तहको निर्वाचनमा लज्जास्पद् हार बेहोरेपछि कांग्रेसका एक दर्जन युवा नेताले वैचारिक अभियान सुरु गरे । चन्द्र भण्डारी, कल्याण गुरुङ, गुरुराज घिमिरे, गगन थापा, धनराज गुरुङ, बद्री पाण्डे, सरिता प्रसाई र रामकृष्ण यादव लगायतका युवा रहेको वैचारिक अभियान समूहले पार्टीभित्र देखिएका समस्या समाधानको जमर्को गर्‍यो ।

पार्टी महाधिवेशन, क्रियाशील सदस्यता विवाद लगायतका विषयमा शीर्ष नेतृत्वलाई दवाव दिएको यो समूह महाधिवेशन नजिकिएसँगै तितरवितर बनेको छ । समूहमा रहेका युवा नेताहरू कल्याण गुरुङ पार्टी सभापति, गगन थापा महामन्त्री र बद्री पाण्डेले सह–महामन्त्रीमा उम्मेद्वारी घोषणा गरेका छन् ।

अर्का युवानेता गुरुराज घिमिरे प्रदेश नम्बर १ को सभापतिमा दाबी गरेका छन् । तर, समूहको तर्फबाट सामुहिक रूपमा उम्मेद्वारी दिन सकेनन् र उम्मेद्वारी घोषणा गर्ने नेताहरू पनि फरक–फरक गुटमा विभाजित छन् । यी बाहेक समूहका अन्य युवा नेताहरू अझै गुमनाम छन् ।

हुन त यो समूह पार्टीभित्र संस्थापनइतर पक्षका युवाहरूमात्र समाहित छन् । संस्थापन पक्षले वैचारिक अभियानलाई आफूविरुद्ध खडा गरिएको समूहका रूपमा बुझेको छ । उम्मेद्वारी घोषणा गर्ने र महाधिवेशनमा एकजुट हुन नसक्ने अवस्थासँगै यो समूहको भविष्यमाथि नै प्रश्न उठेको छ ।

नेपाली कांग्रेसको इतिहासमा विभिन्न कालखण्डमा पार्टीभित्र कुनै न कुनै नाममा समूह निर्माण हुँदै आएका छन् । २०४६ सालको राजनीतिक परिर्वतनपछि शैलजा आचार्य, खुमबहादुर खड्का, विजयकुमार गच्छदार, गोविन्दराज जोशी हस्तक्षेपकारी भूमिकामा थिए ।

तत्कालिन समयमा यो समूह निकै प्रभावशाली र पार्टी कार्यकर्ता र आमनागरिकको आशा गरेको समूहको रूपमा परिचित थियो । तर, यो समूहका कुनै पनि नेताको राजनीतिक उत्तरार्ध सुखद् हुन सकेन । आचार्य बाहेक अरु सबै नेतालाई राजनीतिक जीवनलाई भ्रष्टाचारको ग्रहणले ओझेल बनाइदियो ।

संस्थापक नेता बीपी कोइरालाको कालखण्डमा पनि पार्टीभित्र डा.तुलसी गिरी, परशुनाराण चौधरी, विश्वबन्धु थापा, योगेन्द्रमान शेरचन र सूर्यप्रसाद उपाध्यायहरुको शक्तिशाली समूह थियो । समयक्रममा तिनीहरुको बलबुँता सिंगो कांग्रेसका लागि फलदायी भएन ।

अहिले पनि १२ जना युवा नेताहरुले वैचारिक अभियान नाम दिएर समूह त खडा गरेका छन् तर, यो समूहको पनि इतिहास पुनरावृत्ति हुन्छ या ब्रेक प्रतिक्षाको विषय बनेको छ ।