काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशन परिणाम आउनेक्रम जारी रहँदा संस्थापन र इतर पक्षलाई आफ्नो समूहबाट साझा उम्मेदवार तय गर्न दबाब बढ्दै गएको छ। महाधिवेशनबाट पार्टी नेतृत्वमा टिक्न र पुग्न संस्थापन र इतर दुवै पक्षलाई आआफ्नो समूहबाट एकमात्र उम्मेदवार बनाउनुपर्ने दबाब परेको हो।
सभापतिमा संस्थापन र इतर दुवै पक्षबाट एकभन्दा बढी उम्मेदवारी परेमा पहिलो चरणमा कुनै पनि उम्मेदवारले विजयी हुन चाहिने मत ल्याउन नसक्ने बुझाइ दुवै पक्षको छ। कांग्रेसको विधानअनुसार सभापतिमा विजयी हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी ल्याउनुपर्छ, नभए बढी मत ल्याउने दुईजनाबीच दोस्रो चरणको मतदान हुन्छ। दोस्रो चरणको निर्वाचन हुने अवस्था आउन नदिन दुवै पक्षकाले आफ्नो समूहबाट एकमात्र उम्मेदवार बनाउन शीर्ष नेता र आकांक्षीलाई सुझाइरहेका छन्।
महाधिवेशनबाट सभापतिमा दोहोरिने तयारीमा रहेका शेरबहादुर देउवालाई विगतमा सँगै रहेका नेताहरूलाई समेटेर अघि बढ्न दबाब परेको छ। संस्थापन पक्षबाट उपसभापति विमलेन्द्र निधि र पूर्वउपसभापति गोपालमान श्रेष्ठले सभापतिमा उम्मेदवारी दिए पहिलो चरणमै आफ्नो पक्षमा परिणाम ल्याउन नसकिने सो समूहको बुझाइ छ।
एकले अर्काको नेतृत्व अस्वीकार गर्दै प्रतिस्पर्धामा उत्रिँदा तिक्तता बढेर जाने, त्यसबाट दोस्रो चरणमा पनि एकले अर्कालाई सहयोग गर्नसक्ने अवस्था नआउने भन्दै देउवानिकट नेताहरूले निधि र श्रेष्ठलाई विश्वासमा लिन उनलाई आग्रह गरेका छन्।









प्रतिक्रिया दिनुहोस्