Logo १२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026


गोला प्रक्रियाबाट तोकिने पेसीको प्रतीक्षा


0
Shares

काठमाडौं । सर्वोच्च अदालतमा गोला प्रक्रियाबाट दैनिक मुद्दाको पेसी तोक्ने प्रक्रियाको तयारी अन्तिम चरणमा पुगेको छ। वर्षौंदेखि प्रधानन्यायाधीशले तोक्दै आएको मुद्दाको पेसी अटोमेसन प्रणालीबाट सुरु हुन लागेको हो।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै गत कात्तिक ७ देखि सहकर्मी न्यायाधीशले मुद्दा सुनुवाइ गर्न छोडेपछि बाध्य भएर गोला प्रक्रियामा जान लागिएको हो।राजीनामा माग गर्दै न्याय सेवा ठप्प भइरहेका बेला गोला प्रक्रियाबाट मुद्दाको दैनिक पेसी तोक्न नियमावली र निर्देशिका संशोधन गर्ने निर्णय बिहीबार भएको थियो।

नयाँ प्रणालीबाट मुद्दाको पेसी तोक्दा प्रधानन्यायाधीशले चाहेको इजलासमा मुद्दा पर्ने छैनन्। प्रधानन्यायाधीशले मुद्दा आफूले चाहेको समयमा स्थगित गर्ने,आफूले चाहेका मुद्दामात्रै आफू खुसी न्यायाधीशको इजलासमा पार्ने गरेको आरोप लाग्दै आएको छ। मुद्दाको पेसीका विषयमा न्यायालयमा बारम्बार विवाद हुँदै आएको छ।

नियमावली र निर्देशिका संशोधनको बेहोरा सोमबार राजपत्रमा प्रकाशित हुँदैछ। राजपत्रमा प्रकाशित भएपछि सर्वोच्च अदालतको पूर्ण बैठकले कुन दिनदेखि लागू गर्ने भन्ने तय गर्नेछ। कानुन,न्याय तथा संसदीय मामिला मन्त्रालयले सम्पादन गरी शुक्रबार पठाएको संशोधित विषय राजपत्रमा छाप्न पठाइएको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले बताए। ‘गोला प्रक्रियाबाट पेसी सुरु गर्न राजपत्रमा अनिवार्य प्रकाशित हुनुपर्ने हुन्छ। हामीले आजै ९आइतबार० पठाइसकेका छौं। भोलि छापिन्छ।’

नागरिक