सर्लाहीमा निर्वाचन अधिकृतमाथि हातपात « Image Khabar


सर्लाहीमा निर्वाचन अधिकृतमाथि हातपात



सर्लाही । नेपाली कांग्रेसको अधिवेशन गराउन खटिनुभएका निर्वाचन अधिकृतमाथि हातपात भएको छ ।

बिहीबार मध्यान्ह सदरमुकाम मलङ्गवास्थित पार्टी कार्यालयमा निर्वाचन अधिकृत दीवाकर राज पाण्डेमाथि कांग्रेसकै एक समूहले हातपात गरेको हो । जिल्ला पार्टी कार्यालयमा मतदान अधिकृत खटाउने विषयमा छलफल भइरहेका बेला निर्वाचन अधिकृत पाण्डेमाथि हातपात भएपछि उहाँलाई मलङ्गवास्थित कुसुम पार्टी प्यालेसमा लगेर राखिएको छ ।

त्यहाँ अहिले ठूलो सङ्ख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ । दुई पक्षबीचको विवादले गर्दा निर्वाचन गराउन नसकेपछि यसअघिका निर्वाचन अधिकृत विनोद कार्कीले राजीनामा बुझाएर गएपछि कांग्रेस केन्द्रीय निर्वाचन समितिले पाण्डेलाई सर्लाहीको निर्वाचन अधिकृत बनाएर खटाएको थियो ।

पाण्डेकै अध्यक्षतामा गएको सोमवार बसेको बैठकले आज जिल्लाका २० वटै पालिकाका सबै २०० वटा वडामा वडा अधिवेशन गराउने निर्णय गरेको थियो । तर, जिल्ला सभापति नागेन्द्र कुमार राय र पूर्व जिल्ला सभापति लक्ष्मण राय पक्षबीच मतदान अधिकृत खटाउने विषयमा सहमति हुन नसक्दा बिहीबार वडा अधिवेशन हुन सकेन ।

विशेष गरी जिल्लाको क्षेत्र नं. ४ मा ककस्लाई मतदान अधिकृतका रूपमा खटाउने भन्ने विवाद छ ।